फाल्गुनन्द गोल्डकपको उपाधि झापा-११ लाई
पाँचथरको फिदिममा आयोजित फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा-११ ले जितेको छ।
३० पुसमा सम्पन्न फाइनलमा प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई २-१ गोल अन्तरले हराउँदै झापाले उपाधि चुमेको हो। झापाका तर्फबाट पुजन उभरकोटीले मात्रै २ गोल गरेर टिमलाई विजय दिलाए। उनले खेलको २३ औं र ८३ औं मिनटमा आर्मीविरुद्ध गोल गरेका थिए। आर्मीका तर्फबाट राजीव गुरुङले ७१ औं मिनटमा गोल गर्दै टिमको खाता खोलेका थिए।
व्यक्तिगत विधातर्फ झापा-११ का खेलाडीको वर्चश्व रह्यो। झापाका देवेन्द्र तामाङले प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित हुँदै यामाहा कम्पनीको १२५ सीसी मोटरसाइकल प्राप्त गरे।
झापाका मनोज प्रधान बेष्ट गोलकिपर, आर्मीका युद्ध शाही बेष्ट डिफेन्स, झापाका पुजन उभरकोटी बेष्ट मिडफिल्ड, झापाकै दिलेन लोक्ताम बेष्ट फरवार्ड, झापाकै प्रवेश कटुवाल बेष्ट कोच र फिदिम स्पोर्टिङ क्लबका प्रवीण जवेगू राइजिङ प्लेयर घोषित भए। उनीहरूले जनही रु. १० हजार पुरस्कार पाए।
यस्तै, झापाका कर्ण लिम्बूले सर्वाधिक गोलकर्ताको उपाधिसहित रु. १५ हजार प्राप्त गरे। बिजेता खेलाडी र टिमलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष मातृका तिमिल्सिना र एन्फा अध्यक्ष कर्मा छिरिङ भुटियाले पुरस्कार, मेडल र ट्रफी प्रदान गरे।
यस वर्षको विजेता टिमले रु. ४ लाख पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता त्रिभुवन आर्मीले रु. २ लाखसहित ट्रफी प्राप्त गरेको छ। प्रतियोगितामा नेपाल र भारतका १० टिम सहभागी थिए।
लक्ष्मी गौतम, पाँचथर