घट्यो हस्तकला सामाग्रीको निर्यात
नेपाली हस्तकला सामग्रीको विश्वबजार केही खस्किएको छ । आर्थिक वर्ष २०७३/०७४ को तुलनामा २०७४/०७५मा हस्तकला सामाग्रीको निर्यात रु. ५ अर्ब ३९ करोडबाट झरेर रु. ५ अर्ब २१ करोडमा आएको हो । यसले हस्तकला सामाग्रीको निर्यात ३ प्रतिशतले घटेको देखाउँछ ।
नेपाल हस्तकला महासंघकाअनुसार उक्त अवधिमा अल्लोका उत्पादनको निर्यातमा सर्वाधिक ५८ प्रतिशतले गिरावट आएको छ ।
आ.व. २०७३/०७४ मा रु. १७ लाख २५ हजार ४७५ को अल्लोका सामाग्री निर्यात भएकोमा २०७४/०७५ मा रु. ७ लाख २८ हजार २७७ को मात्र निर्यात भएको थियो ।
त्यस्तै, पोतेको निर्यातमा पनि ५० प्रतिशतले गिरावट आएको छ । २०७३/०७४ मा रु. १४ करोड ७७ लाख ३९ हजार ५४१ को पोतेका सामाग्री निर्यात भएकोमा २०७४/०७५ मा रु. ७ करोड ४० लाख ७० हजार २८५ को मात्र निर्यात भएको महासंघले जनाएको छ । यो ५० प्रतिशतले गिरावट भएको हो ।
उक्त अवधिमा निर्यात भएका २५ किसिमका हस्तकला सामाग्रीमध्ये बाँस, ढाका, क्रिस्टल, फेल्ट बल (बल गलैंचाहरु), छाला, सिल्क र धातुका उत्पादनहरुको निर्यात भने केही बढेको छ ।
नेपाली हस्तकला सामाग्रीको ठूलोबजार मानिएको चीनले आयात कम गर्न थालेको र डलरको भाउ बढिरहेको कारण हस्तकला सामाग्रीको निर्यात घटिरहेको महासंघले जनाएको छ ।
संघका अध्यक्ष सुरेन्द्रभाई शाक्य भन्छन्, “सरकारले हस्तकला सामाग्रीको नयाँ बजार खोज्न मद्दत पनि गरिरहेको छैन ।” अध्यक्ष शाक्यले चालु आर्थिक वर्ष हस्तकलाको निर्यात व्यापार अझै घट्ने बताएका छन् ।