नेप्सेको प्राविधिक गडबडीले तामाकोशीको शेयर मूल्य ५० प्रतिशत बढ्यो, समग्र नेप्सेमा दोहोरो अंकको वृद्धि
नेप्सेको प्रणालीमा प्राविधिक गडबडी भएपछि माथिल्लो तामाकोशीको शेयर मूल्यमा अस्वभाविक वृद्धि भएको छ ।
कारोबार खुलेको आधा घण्टामै नेप्सेमा माथिल्लो तामाकोशीको शेयर ५० प्रतिशत बढेपछि नेप्सेले उक्त कम्पनीको कारोबार बदर गरेको जनाएको छ ।
“नियमानुसार बजार खुलिसकेपछि कुनै कम्पनीको कारोबारमा रोक लगाउन नमिल्ने भएकाले माथिल्लो तामाकोशीको शेयर किनबेच गर्न ‘अर्डर’ नै गर्न नमिल्ने बनाएका छौं,” नेप्सेका सहप्रवक्ता मुराहरी पराजुलीले भने ।
उनकाअनुसार नेप्सेले यसरी कारोबारमा ‘प्राविधिक रोक’ लगाउनुअघिसम्म २५९ पटक माथिल्लो तामाकोशीको शेयर किनबेच भएको थियो ।
“त्यसमध्ये वैधानिक मूल्यस्तरभित्र पर्ने कारोबारलाई सदर गरेर सीमा नाघेको कारोबारलाई बदर गरिसकेका छौं” उनले भने ।
पहिलो पटक सूचीकृत भएर कारोबार खुल्दा खुद सम्पत्ती (नेट वर्थ)को ३०० प्रतिशतसम्म बढ्न पाउने व्यवस्था छ । त्यसअनुसार २९ पुसबाट कारोबार खुला भएको तामाकोशीले शेयरमा उक्त ‘रेञ्ज’ राखेको थियो ।
तर, आजको कारोबारमा त्यस्तो रेञ्ज नेप्सेको प्रणालीले स्वचालित रुपमा बदल्नुपर्नेमा प्राविधिक गडबडीका कारण अघिल्लाे दिनकै रेञ्जका आधारमा कारोबार भएको नेप्सेका अधिकारीहरुले जानकारी दिएका छन् ।
पहिलो दिनका लागि मात्रै ३०० प्रतिशतसम्म बढ्न दिने र त्यसपछि नियमित कारोबारमा हरेक दिन १० प्रतिशतभन्दा बढी बढ्न वा घट्न नपाउने कानूनी व्यवस्था छ ।
माथिल्लो तामाकोशीको शेयर हिजो, पहिलो दिन रु. २२४ मा कारोबार बन्द भएकोमा आज रु. ३३६ पुगेको छ । आजमात्रै नेप्सेमा २३५ देखि ३३६ रुपैयाँसम्म कारोबार भएको देखिन्छ ।
व्यापारको दोस्रो दिन अाज १४ हजार २९५ कित्ता शेयर रु. ४७ लाख ८२ हजार ५४० मा किनबेच भएको छ ।
यसमध्ये ९० कित्तामात्रै कानूनी सीमाभित्रको मूल्यमा किनबेच भएको छ । आज भएको २५९ कारोबारमध्ये तीनवटा कारोबारमात्रै नेप्सेको बैधानिक सीमाभित्र छन् । बाँकी सबै कारोबार सीमा नाघेर भएको नेप्सेको तथ्यांकमा देखिन्छ ।
आज व्यापार भएको माथिल्लो तामाकोशीको शेयरमध्ये ७० प्रतिशत अर्थात् १० हजार कित्ता कोहीनूर इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिजमार्फत खरीद भएको देखिन्छ ।
यो, धितोपत्र दलालहरुको संगठन ‘स्टक ब्रोकर्स एशोसियशन’का अध्यक्ष भरत रानाभाटको कम्पनी हो ।
त्यसपछि सानी सेक्युरिटिज कम्पनी (४२) र नेपाल स्टक हाउस (१४)ले बढी शेयर खरीद गरेको देखिन्छ । शेयर बिक्रेता ब्रोकरमध्ये सर्वाधिक बिक्री गर्ने चाहिँ नासा सेक्युरिटिज (५८) रहेको छ ।
तामाकोशीको शेयर मूल्यमा देखिएको अनियन्त्रित वृद्धिका कारण नेप्सेको सूचकांक पनि प्रभावित भयो । आज जलविद्युत् समूहको सूचक १४.८६ प्रतिशत बढ्यो र समग्र नेप्सेलाई झण्डै ११.७४ अंकको वृद्धि गर्नमा सहयोग पुग्यो ।
कारोबारको अन्तिम समयमा नागरिक लगानी कोषको शेयर मूल्य बढाएर अघिल्लो दिनको तुलनामा १०१ रुपैयाँ उचालेपछि बजार बजार बन्द हुनु अघिको दुई मिनेटमा नै नेप्से सूचकांक २ अंकले बढाइएको छ ।
२७ मंसीरमा एक हजार ५७७ रुपैयाँमा झरेको कोषको शेयर मूल्य त्यसपछिका २१ दिनमा ८०० रुपैयाँ महँगिएर आज बजार बन्द हुँदा दुई हजार ३७६ रुपैयाँ पुगेको छ ।
आज नेप्सेमा १५८ कम्पनीका आठ लाख ५ हजार ६०१ कित्ता शेयर रु. २६ करोड ८१ लाख २४ हजारमा किनबेच भएको छ ।
नेपाल ब्यांकको सर्वाधिक चार करोड ७२ लाख र नागरिक लगानी कोषको चार करोड ७० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
माथिल्लो तामाकोशी र नागरिक लगानी कोषपछि सबैभन्दा धेरै महँगिने शेयरको सूचीमा जनउत्थान सामुदायिक लघुवित्त तेस्रो स्थानमा छ । आज ब्यांक अफ काठमाडौंका लगानीकर्ताले गुमाएका छन् ।
आज वाणिज्य ब्यांकबाहेक सबै समूहगत परिसूचक उकालो लागेका छन् । यसले समग्र नेप्सेको सुधारमा सहयोग पुगेको हो ।