कला/साहित्यशनिवार, पौष २८, २०७५

राजधानीमा हाक्पारे

सेवा भट्टराई

लिम्बू समाजका परम्परा, विश्वास र जीवनदर्शन गाएर एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको हाक्पारे जोखिममा परेको छ ।

ए... सृष्टि पनि थिएन, धर्ती पनि थिएन
धर्ती र आकाश पनि जोडिएकै थिएन
सर्वज्ञानी माङ आइपुगिन्
तागेरा निङवाफुमाङ आइपुगिन्
ए... सृष्टि गर्‍यौ हामी मानिसको

झुमा लिम्बु ।

२४ पुसमा काठमाडौंको शिल्पी थिएटरमा झुमा लिम्बू गाउँदै थिइन् । रैथाने संगीत समूहले लोकसंगीतको अध्ययन र बुझाइ बढाउने उद्देश्यले आयोजना गरेको गायन तथा अन्तरक्रिया कार्यक्रम थियो, यो ।

लिम्बू समुदायमा लोकप्रिय हाक्पारे एक किसिमको मुन्धुम हो । लिम्बू समाजका परम्परा, विश्वास र जीवनदर्शन गाएर एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको छ ।

तुम्याङहाङ, येबा र फेदाङमा भनिने समुदायका अग्रज र जानकारले गाउने हाक्पारे लिम्बू संगीतमध्येको सबभन्दा पुरानो शैली मानिन्छ । विवाह, जन्म, मृत्यु, र अरु महत्वपूर्ण समारोहमा गाइने यो मुन्धुम गहन र ज्ञानले भरिपूर्ण हुन्छ ।

“एकजनाले मुन्धुम गाएपछि अर्कोले त्यसमा प्रश्न उठाउन सक्छ, वा अर्कोले त्यसमा जानकारी थपेर अझ स्पष्ट बनाउन सक्छ” समाजशास्त्री चैतन्य सुब्बा भन्छन्, “यसरी हाक्पारे भाका अघि बढ्छ ।” यी गीतमा ओडारमा बसेकोदेखि पछि हाक्पारा भन्ने ठाउँको मैदानमा बस्ती बसेको प्रसंग पनि छ । यसबाट आदिम फिरन्ते युगदेखि नै लिम्बू समुदायमा हाक्पारे गाउने चलन रहेको देखिन्छ ।

हाक्पारे विभिन्न प्रकारका हुन्छन् । विवाहका बेला गाइने गीतले विवाहको इतिहास, विवाह परम्परा शुरु हुनुअघिको अवस्था, युवायुवतीको सम्बन्ध विकास आदिको वर्णन गर्छ ।

गर्भपूजाका बेला गाइने हाक्पारेमा शिशुको सुरक्षित अवतरणको कामना गरिन्छ भने मृत्युपछिका गीतले आत्माको शान्तिको कामना गर्छ । त्यस्तै पृथ्वीको सृष्टि र मानव सभ्यताको शुरुआतका कथा पनि हुन्छन्, यी गीतहरूमा ।

कुनै कुनै गीतमा हाक्पारेकै शुरुआतका कथा पनि पाइन्छन्, “हाक्पारे गीतमा एउटा भनाइ छ, हुरी बतास चल्दा मानिसको मन कस्तो कस्तो भइआउँछ । विरहको त्यो बेलामा हाम्रा पुर्खाले हाक्पारे गाउन थालेका हुन्”, ताप्लेजुङका हाक्पारे गायक लोकमान वनेम भन्छन् ।

मुन्धुमको संकलन र अभिलेखीकरणका अग्रज एवम् कवि बैरागी काइँलाले मुन्धुमको विरही प्रकृतिका बारेमा अझ स्पष्ट पारे, “युवायुवती एकअर्काको हात समातेर गीत गाउँछन् ।

लाग्छ उनीहरू उमंग र उल्लासका गीत गाउँदा हुन् । तर होइन, यी गीतहरू असाध्ये विरही हुन्छन् ।” त्यस्तो किन त ? उनी भन्छन्, “किनकि मानिस मरणशील छ भन्ने चेत यी गीतमा छ । मानिसले जे–जति उपलब्धि हासिल गरे पनि एक दिन छोडेरै जानुपर्ने होे । र, जीवन बुझ्नका लागि यिनै विरही लयहरू नभई हुँदैन ।”

श्रुति परम्परामा आधारित यी गीतहरू आधुनिक समयमा मात्रै अभिलेख गर्न थालिएका हुन् । तर आधुनिक समयमा मनोरञ्जनका वा सामाजिक नीतिनियमका लागि आवश्यक नभएपछि यी गीतहरू विस्मृतिमा जान थालेका छन् । “आफ्नो जीवनका भोगाइहरू गाउन सकियो भने पछि आउने पुस्तालाई सजिलो होला भनेर पुर्खाले यी गीत गाउन शुरु गरे”, कवि बैरागी काइँला भन्छन् । उनका अनुसार हाक्पारे नेपालको एउटा विशिष्ट संगीत पद्धति हो जसमा संगीत मात्रै होइन एउटा सिंगो समुदायको जीवनशैली र दर्शन छ ।

पूर्वी नेपालमा निकै लोकप्रिय यो लयमा आधारित भएर नेपालीलगायत विभिन्न भाषामा लोकगीत गाइएका छन् । हाक्पारे लयबाट प्रभावित केही आधुनिक तथा पप गीतसमेत रचिएका छन् । तर लिम्बू समुदायले संग्रह गरेको हजारौं वर्षको मानव जीवनबारेको ज्ञान भने हाक्पारे मुन्धुममा मात्रै पाइन्छ । यो मुन्धुमले आफ्नै दीर्घजीवनको कामना त गरेको छ, तर पछिल्लो समय जोखिममा पर्दै गएको पनि देखिन्छ ।

मानिसको चोला, मनुष्य जाति
जीवनमा जेठो, जगतमा बाठो
हामी बाँचुञ्जेल जीवनको मुन्धुम
ए... मरेर गए अजम्बरी मुन्धुम

प्रतिकृया दिनुहोस