रिपोर्टशनिवार, पौष २८, २०७५

कृषिबाट प्राण धान्‍नै गाह्रो

कमल रिमाल

आफ्नो सीमित जग्‍गा र अधियाँमा लिएको खेतमा खेती गर्दै आए पनि गुजारा चल्न नसक्दा मोरङका किसान अतिरिक्त काम गर्न बाध्य छन्।

जहदा गाउँपालिका-४ मा आलु गोड्दै ज्‍येष्‍ठ नागरिक । तस्वीरहरूः कमल रिमाल

मोरङको जहदा गाउँपालिका-१ धुनी टोलका भोला सरबरिया (५०) आफ्नो तीन कट्ठा जग्‍गासहित ठेक्कामा लिएको ३ बिघामा खेती गर्छन्। वर्षमा एक बाली मात्रै उब्जनी हुन्‍छ। यसपालि १५० मन धान फल्यो। तर, खेतको ठेक्काबापत साहूलाई बिघाको ३० मनका दरले ९० मन धान बुझाएपछि आफ्नो भागमा ६० मन बाँकी रहँदा उनी खिन्‍न छन्। “मल, बीउ, मिहिनेत सबै जोड्दा खर्च नै उठ्दैन,” उनी भन्‍छन्।

अहिले मोरङका कृषियोग्‍य क्षेत्रमा धान थन्‍क्याउने चटारो छ। तर, आधासरो किसानले खेती गरेर पनि जीविकोपार्जन गर्न सकिरहेका छैनन्। ५ जनाको परिवारको जिम्मेवारी बोकेका भोला धान थन्‍क्याएपछि ज्‍यालामा मजदूरी गर्न हिँड्छन्। “खेतीमा घाटा छ, यसबाट खान नपुग्‍ने भएपछि अरू काम नखोजेर के गर्नु ?” उनी भन्‍छन्।

भोलाका छिमेकी बालेश्‍वर सरबरियाले (५८) पनि डेढ बिघा खेत ठेक्कामा लिएर धान खेती गर्दै आएका छन्। तर, उब्जनीबाट ८ जनाको परिवारको गुजारा नहुने भएकाले उनी अरूको खेतमा मजदूरी गर्न जान्‍छन्। धानको मल, बीउ र मिहिनेतको खर्च जोड्दा फाइदा नभए पनि मकै उत्पादनबाट भने सामान्‍य कमाइ हुने उनको भनाइ छ। “आफ्नो खेतको काम सकेपछि अरूकोमा कोदालो खन्‍छु, दिउँसोको खाना र रु.३०० ज्‍याला दिन्‍छन्,” उनी भन्‍छन्।

स्थानीय किसान सानदेव सरबरियाका अनुसार धुनी टोलका करीब २०० किसान परिवारमध्ये ७५ प्रतिशतले खेतीबाट खान नपुगेर मजदूरी गर्ने गरेका छन्।

खेतीसँगै काम खोज्‍ने पिरलो
विगतमा सुकुम्बासी रहेका जहदा-३ का श्‍याम राजवंशी (४१) ले अरूको खेतमा काम गर्ने क्रममै ११ कट्ठा जग्‍गा जोडे। मंसीरमा धान भित्र्याएपछि त्यो खेतमा हिउँदे बाली नलगाई उनी बढी फाइदा हुने भएकाले तरकारी खेती गर्छन्। तर, धान र तरकारी बिक्रीबाट आउने रकमले सामान्‍य घर खर्च मात्र चल्ने गरेको राजवंशी बताउँछन्। “खेतको उब्जनीबाट भान्‍साको गर्जो त टर्छ, छोराछोरी पढाउनचाहिँ बाहिरको काम नगरी हुँदैन,” उनी भन्‍छन्। उनी घर निर्माणको काम गर्छन्।

पाँच कक्षामा पढ्दापढ्दै बाबुसँग अरूको खेतमा मजदूरी गर्न जान थालेका उनले केही वर्ष उद्योगमा काम गरे। त्यही बेला ऋण लिएर खेत खरीद गरेको उनले सुनाए। ३ छोरी र १ छोराका पिता उनी भन्‍छन्, “छिमेकी दाइ घर बनाउने मिस्त्री छन्, खेतीबाट खाली भएको समयमा उनको हेल्पर भएर काम गर्छु।”

रंगेली-७ आदर्शटोलका सन्‍तलाल मण्डलले (६०) अधियाँमा लिएको अढाइ बिघा जग्‍गामा खेती गर्दै आएका छन्। बाली उठाइसकेपछि उनी पनि मजदूरी गर्न हिँड्छन्। “खेतीको उब्जनी मालिकलाई आधा दिएपछि वर्षभरि गर्जो टार्न अलि गाह्रै पर्छ, यसै कारण सकुन्‍जेल बाहिरतिर खटेर काम गर्छु।” कान्‍छो छोरा र श्रीमतीसहित ३ जनाको परिवार पाल्न घर निर्माण गर्ने काममा हिँड्ने गरेको उनी बताउँछन्।

धान काटेपछि मकै छर्ने गरेका मण्डलले यस पटक भने गहुँ लगाएका छन्। गएको वर्ष मकै कम फलेकाले यस पटक बाली बदलेको उनी बताउँछन्। जग्‍गाधनीले मल र बीउको खर्च आधा व्यहोरे पनि खेती गर्दा प्रयोग गरिने मजदूरको खर्च अधियाँ गर्नेले नै व्यहोर्नुपर्छ। यसैले अधियाँवाल किसानलाई खेतीको काम महँगो पर्ने गरेको मण्डलको अनुभव छ।

रंगेली-७ तेतरीटोलका कृपानन्द मण्डल (४२) बाली उठाइसकेपछि ८ जनाको परिवार पाल्ने बाध्यताका कारण अरूको खेत र घरमा काम गर्न हिँड्छन्। वृद्ध बाबुआमा, श्रीमती, ३ छोरी र १ छोरालाई भरणपोषण गर्ने जिम्मेवारी बोकेका उनले १ बिघा जग्‍गा अधियाँ लिएर खेती गर्दै आएका छन्। धान काटेपछि गहुँ छरेर कामको खोजीमा हिँड्ने गरेका उनी भन्‍छन्, “यही काम गर्ने भन्‍ने टुंगो हुँदैन, जुन काम पाए पनि गर्छु।” मकै खेतीबाट बढी आम्दानी हुने भए पनि सिँचाइ समस्याले गहुँ लगाउनुपरेको उनी बताउँछन्।

कुनै बेला काम नपाउँदा परिवार पाल्न कृपानन्दले ऋणपान पनि गर्नुपरेको छ। स्वास्थ्यमा गाह्रोसाह्रो पर्दा झन् आर्थिक समस्या अचाक्ली बन्‍छ। गएको वैशाखमा श्रीमतीको पत्थरी र एपेन्‍डिसाइटिसको अप्रेशन गर्दा रु.४० हजार ऋण लिएका थिए। कोशी अञ्‍चल अस्पतालमा अप्रेशन गरेकाले कम खर्च लागे पनि त्यो ऋण उनका लागि बोझ भएको छ। “मिहिनेत गरेर काम गरें भने दुई वर्षमा ऋण तिर्न सक्छु होला,” उनी भन्‍छन्।

बुढ्यौलीमा कठिन काम
रंगेली नगरपालिका-७ जब्रीटोलका सुगनलाल मण्डल (६६) धान काट्ने काम सकिएपछि रूख काट्ने, मुढा बोक्ने र दाउरा चिर्ने गर्छन्। श्रीमती, छोरा-बुहारी, नातिनातिना गरी ११ जनाको परिवारका अभिभावक मण्डलको घर भएको १० धुरबाहेक अरू जमिन छैन। “बूढो भएकाले काम पाउन गाह्रो छ,” उनी भन्‍छन्, “खेतको काम गर्न अलि सजिलो हुन्‍छ, अहिले गरिरहेको काम कठिन छ।”

सुगनलालसँगै मुढा चिर्ने रंगेली-७ तेतरीटोलका विजय मण्डल (५९) को पनि ११ जनाकै परिवार छ। १८ धुर जग्‍गा भएका विजयले ढाड दुख्‍ने समस्याले यस वर्ष धान काट्ने काम गर्न सकेनन्। भन्‍छन्, “धान काट्ने, झार्नेजस्ता काम गरेर केही रकम जम्मा गर्ने गर्थें तर यसपालि कमाइ हुनु त कता हो कता, उपचारमा ७ हजार रुपैयाँ खर्च भयो।”

धान काटेपछि खेत खाली हुने भएकाले मंसीर र पुसमा यस क्षेत्रमा रूख काट्ने गरिन्‍छ। युवा अरू नै काममा व्यस्त हुने हुँदा वृद्धहरूले गाउँ-गाउँ घुमेर ठूला रूख काट्ने र मुढा पल्टाएर ट्याक्टरमा लोड गर्ने काम पाउँछन्। रूख काटेर एक ट्याक्टर लोड गर्दा कामदारहरूले जम्मा रु.५ हजार पाउँछन्। स्थानीय मोहम्मद महफुजका अनुसार ५ जनाले १ सातामा काटेको रूख मुश्‍किलले ४ ट्रयाक्टर हुन्‍छ। ४ ट्रयाक्टरको रु.२० हजार हुँदा प्रतिव्यक्तिको साताको कमाइ रु.४ हजार हुन्‍छ। यस्तो काममा व्यस्त हुँदा उनीहरू २ महीना विरलै घर जान्‍छन्।

‘किसान लक्षित बजेट’
मोरङमा खेतीयोग्‍य जमिन प्लटिङ गरेर बेच्‍न बाँझो छाडिएको जताततै देखिन्‍छ। अर्कातिर, कतिपयले आफ्नो जग्‍गा ठेक्का र अधियाँमा अरूलाई खेती गर्न दिने गरेका छन्।

“मोरङमा ५० प्रतिशतले आफ्नो जग्‍गा ठेक्का र अधियाँमा दिएका छन्,” जिल्ला कृषि विकास कार्यालय मोरङमा प्रमुख रहेर लामो अवधि काम गरेका वरिष्‍ठ कृषि प्राविधिक राजेन्‍द्र उप्रेती भन्‍छन्, “जमिन नहुनेले नै कृषिको काम गरिरहेका छन्।” उनका अनुसार अचेल जमिन नहुनेहरू खेतीमा आश्‍रित रहेका र बढी जमीन हुनेहरू अनुदानका लागि व्यावसायिक खेतीमा लागेका छन्।

१,८५५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको मोरङमा महेन्‍द्र राजमार्ग दक्षिणमा रहेको ५० प्रतिशत क्षेत्र कृषिका लागि उर्वर मानिन्‍छ। प्रदेश-१ कृषि निर्देशनालयले बाली विकास, खाद्यान्‍न, ‘हाइब्रिड’ बीउ उत्पादन, सिँचाइ, कृषि औजारलगायतका लागि चालु आर्थिक वर्षमा रु.९६ करोड ७३ लाख बजेट छुट्याएको छ। यो रकम निर्देशनालय, एक तालिम केन्‍द्र, ८ फार्म केन्‍द्र र ११
ज्ञान केन्‍द्रमार्फत किसानका लागि खर्च गरिनेछ।

निर्देशनालयका वरिष्‍ठ कृषि प्रसार अधिकृत प्रकाशचन्‍द्र डाँगीका अनुसार कृषि क्षेत्रको विकास र किसानलाई लगानी गर्ने कार्यक्रम सञ्‍चालन गर्न निर्देशनालयले तयार गरेको १० वटा निर्देशिका प्रदेश मन्‍त्रालयबाट पारित भइसकेका छन्। थप २० निर्देशिका बन्‍ने तयारीमा छन्। “निर्देशिका बनेपछि कृषि योजनाहरू सञ्‍चालनमा आउनेछन् र किसानलाई सहयोग पुग्‍नेछ,” डाँगी भन्‍छन्।

रुख काटेर पथरी शनिश्‍चरेस्थित हसन्‍दहमा मुढा ओसार्दै रंगेली-७ का विजय मण्डल (अगाडि) र सुगनलाल मण्डल (पछाडि) ।
जहदा-१ धुनी टोलका भोला सरबरिया ठेक्कामा लिएर लगाएको धान काट्दै ।
जहदा ३ जुडी खोला किनारका सुकुम्बासी बिन्‍दी ऋषिदेवको परिवार ।
रुख काटेर ट्याक्टरमा लोड गर्दै विजय मण्डल, सुगनलाल मण्डललगायत ।

 

प्रतिकृया दिनुहोस