समाचारशुक्रबार, २७ पौष , २०७५

सानो कोटरीले निर्णय गर्ने प्रवृत्ति मौलायो- विवेकशील नेपाली दल

“पार्टी फुटेको होइन, हामीले एकीकरण रद्द गरेका हौं”

हिमालखबर

विवेकशील साझा पार्टीमा सानो कोटरीले निर्णय गर्ने प्रवृत्ति मौलाएका कारण अलग हुनु परेको नवगठित विवेकशील नेपाली दलले बताएको छ।

पार्टीबाट अलग भएका १६ केन्द्रीय सदस्यहरूले २७ पुसमा प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, “पार्टी एकीकरण भएको १७ महिनाको दौरानमा पार्टीमा वैकल्पिक राजनीतिको बुझाइ र व्यवहारमा ठूलो भिन्नता रहेको प्रष्टै देखियो। मूल्य मान्यतामा आधारित राजनीति र पार्टी मात्र नभएर परिपाटी विकास गर्ने अभियानमा यो यात्राले नतिजा दिन नसक्ने स्थिति सामुन्ने आयो।”

अहिलेकै ढंगले अगाडि बढ्दा निर्णय प्रक्रिया अपारदर्शी हुने, पार्टीमा सहभागितामुलक अभ्यास कमजोर हुने र सानो कोटरीले निर्णय गर्ने प्रवृत्तीले प्रश्रय पाउने देखिएकाले अलग पार्टी गठन गरिएको विज्ञप्तिमा उल्लेख छ।

“नेतृत्वले विधानविपरित कामहरू गरिरहने, आफूखुशी नामहरू ल्याएर केन्द्रीय सदस्य भर्ति गर्न खोज्ने, अपारदर्शी एवं अलोकतान्त्रिक तरिकाले विभागहरू विघटन गर्ने, परम्परागत राजनीतिक दलहरूकै अनुसरण गर्दै भ्रातृ संगठन गठन गर्नेतर्फ अघि बढ्नेजस्ता क्रियाकलापले समयकालमा ह्रास हुँदै गएको आफूहरूको आशा पूरै निराशामा बदलिएको विज्ञप्तिमा उल्लेख छ।

२०६९ सालदेखि विवेकशील नेपाली अभियान शुरु भएको थियो। संविधानसभाको दोस्रो निर्वाचन, १२ वैशाख २०७२ को भूकम्पपछिको उद्धार र राहत, लुटतन्त्रविरोधी सडक अभियान, डा. गोविन्द केसीसँगको शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व बढाउनेलगायत अभियान यसबीचमा चलाएको थियो। विवेकशील नेपाली दलका नाममा २०७४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरमा उमेदवारी दिएपछि यसको चर्चा चुलिएको थियो।

उक्त निर्वाचनमा विवेकशील नेपाली दल र २०७३ मा खुलेको साझा पार्टीले हासिल गरेको नतिजाबाट वैकल्पिक शक्तिका लागि नेपाली राजनीतिमा अलग स्थान रहेको ठम्याइ दुवै दलको देखियो। र, ११ साउन २०७४ मा दुवै दलबीच एकता भएर विवेकशील साझा पार्टी जन्मियो। उक्त पार्टीले संघीय र प्रादेशिक निर्वाचनमा भाग लियो। प्रादेशिक निर्वाचनमा प्रदेश-३ मा दुई सिटमा जित हासिल गर्‍यो। काठमाडौं-१ को संघीय संसद निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई हम्मे पर्ने गरी नतिजा पनि ल्यायो तर पराजित भयो।

“पार्टी फुटेको होइन, हामीले एकीकरण रद्ध गरेका हौं,” केन्द्रीय सदस्य रञ्जु दर्शना भन्छिन्, “वैकल्पिक राजनीति भन्नेमै फरक दृष्टिकोण र बुझाइ पाइयो। त्यसैले एकै ठाउँमा बस्न सकेनौं।”

आफूहरूको वैकल्पिक राजनीतिको मूल अभ्यास सहभागितामुलक लोकतन्त्र रहेको उनको भनाइ छ। “हामी मूल्य मान्यतामा आधारित राजनीति हुनुपर्छ भन्ने कुरामा विश्वास गर्छौं,” दर्शना भन्छिन्, “यसबीचमा मतान्तर गहिरियो। समस्या आउँदा त्यसको कारण के हो भन्नेमा नगई व्यक्ति विशेषलाई मात्र दोष लगाउने प्रवृत्ति बढ्दै जाँदा अहिलेको अवस्था आएको हो।”

पदाधिकारी, जिल्ला, प्रदेश र केन्द्रका नेताहरू चयन गर्दा पनि छलफल गरेर उपयुक्त व्यक्ति छान्नुभन्दा कोठामा बसेर ‘यी उपयुक्त होलान्, यिनको पोर्टफोलियो यो छ’ भनेर मनोनयन गरिएको विवेकशील पक्षको भनाइ छ। “पोर्टफोलियो महत्वपूर्ण हो तर त्यसभन्दा महत्वपूर्ण सदस्य साथीहरूसँग गर्नुपर्ने छलफल थियो,” दर्शना भन्छिन्, “यो कुरामा पार्टी पटक-पटक चुक्यो।”

पार्टी संयोजक उज्वल थापाले एक साताअघि दलको हालसम्मको समीक्षाका रूपमा एक प्रतिवेदन पार्टीको शीर्ष तहमा बुझाएका थिए। त्यसमा विवेकशील समूहका तर्फबाट १८ पृष्ठ लामो विमति उल्लेख थियो। उनको प्रतिवेदनमा पार्टीले होश र जोशलाई अँगाल्न नसकेको, परिपाटी बसाल्ने पार्टी बनाउने चासो कम देखिएको, दलले गति लिन नसकेको र ढंग पनि पर्याप्त नदेखिएको, चरम शक्ति केन्द्रिकरणले दललाई बन्धक बनाएको, डरको राजनीति हावी भएको, ‘सिरियल सर्किट’मा चल्न रुचाउने प्रवृत्ति हावी भएको र कमजोरीमा केन्द्रित वातावरण बनेको लगायत विषय उल्लेख छन्।

उनको प्रतिवेदनलाई अर्का संयोजक रवीन्द्र मिश्र र पूर्वसाझा पार्टीका सदस्यहरूले अस्वीकार गरेको विवेकशील पक्षको भनाइ छ। “उहाँहरूको अहंकारी भूमिका देखियो, जुन विलकुल गलत थियो,” दर्शना भन्छिन्, “यदि गलत ढंगबाट प्रतिवेदन आएको भए संयोजक उज्वल थापालाई कडा कारवाही हुनुपर्थ्यो।” तर, थापाको प्रतिवेदनमाथि हुनुपर्ने गहन छलफल निषेध गरिएको विवेकशील पक्षको आरोप छ। त्यसको साटो विभागहरू विघटन गरेर अवैध गतिविधि गरेको दर्शना बताउँछिन्। “यसले परम्परावादी र शास्त्रीय राजनीतिलाई निर्क्योल गर्छ। अहिले नै त्यति गतिविधि देखिसकेपछि भविष्यमा कसरी विश्वास गर्न सकिन्छ त ?” उनी भन्छिन्।

यो पनि पढ्नुहोस्
विवेकशील साझा पार्टी विभाजित

प्रतिकृया दिनुहोस