विवेकशील साझा पार्टी विभाजित
लामो विवादपछि २७ पुसमा विवेकशील साझा पार्टी विभाजित भएको छ। पार्टीका एक संयोजक उज्वल थापाको नेतृत्वमा १६ केन्द्रीय सदस्यहरू अलग भएका हुन्।
विवेकशील साझाको केन्द्रीय समिति ३७ सदस्यीय थियो। विभाजित केन्द्रीय सदस्यहरूले ‘विवेकशील नेपाली दल’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्। नयाँ दलमा प्रदेश-३ का दुई सांसदहरू रमेश पौडेल र विराज भट्ट पनि सामेल भएका छन्। काठमाडौं महानगरमा मेयरको उम्मेदवार बनेकी रञ्जु दर्शना पनि नयाँ पार्टीमा सामेल भएकी छन् ।
११ साउन २०७४ मा विवेकशील र साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी गठन भएको थियो। साझा पार्टीसँगको एकता अन्त्य गर्दै विवेकशील पक्षले पुरानै धार समातेको हो ।
विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यहरू रमेश पौडेल, विराट भट्ट, रञ्जु दर्शना, डा. अनुषा थापा, सुबुना बस्नेत, गोविन्द नारायण, पुकार बम, अर्जुनसिंह ठकुरी, साधना राई, शक्तिबिक्रम कार्की, अजिता राई, जीवन श्रेष्ठ, आशुतोष तिवारी, ज्ञानेन्द्र निरौला र मिलन पाण्डेले नयाँ दल दर्ताका लागि दिइएको निवेदनमा हस्ताक्षर गरेका छन्।
विवेकशील साझा पार्टीका संगठन विभाग प्रमुख मुमाराम खनालका अनुसार २२ पुसमा बोलाइएको केन्द्रीय समिति बैठकमा पुरानो विवेकशील पार्टीबाट आएका कोही पनि उपस्थित भएका थिएनन्। “एकाएक अलग पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको अनलाइन पोर्टलहरूबाट थाहा पायौं,” खनालले भने।
“हामीले प्रयोगका हिसाबले नै साझा पार्टीसँग एकीकरण गरेका थियौं, त्यो प्रयोग असफल भयो अनि बाहिरियौं,” विभाजित समूहका नेता पुकार बलमे भने, “हामीले अपेक्षा गरेको राजनीति त्यस मञ्चबाट नहुने देखेपछि बाहिरिनुको विकल्प रहेन।”
उनका अनुसार विवेकशीलबाट एकीकरणमा गएका सबै सदस्य बाहिरिएको बमले जानकारी दिए। “हामीले आफ्नातर्फबाट सहमति तोडेका हौं, पार्टी फुटेको होइन,” उनले भने। पार्टीमा विवेकशील पक्षधरलाई थाहा नदिई एकलौटी ढंगबाट निर्णयहरू हुन थालेपछि बाहिरिनु परेको उनको भनाइ छ। ५ जना केन्द्रीय सदस्य थप्ने र ६०-४० को खेल पार्टीमा भित्रिएपछि सहमति तोडिएको उनको भनाइ छ। पार्टी संयोजक उज्वल थापा, संसदीय दलका नेता रमेश पौडेललगायत नेताको अनुपस्थितिमा अजेण्डा ल्याएर पारित गराउने काम भएको विवेकशील पक्षधरको आरोप छ।