नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड सम्मानित
ललितपुरस्थित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड सम्मानित भएको छ।
साझा सेवा (सहकारी संस्था) लिमिटेडको २७ पुसमा आयोजित ३४ औं वार्षिक साधारण सभामा संघलाई रु. ५० हजारसहित सम्मान गरिएको हो।
साना किसान कृषि सहकारी संस्थाहरूको छाता संगठनका रूपमा रहँदै आएको संघले नेपालको सहकारी अभियानमा कृषि क्षेत्रको विकासका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएकाले सम्मान गरिएको साझा सेवा लिमिटेडका कार्यकारी प्रमुख दिनेश पौडेलले बताए। समारोहमा साझा सेवाका अध्यक्ष भीमबहादुर अधिकारिले व्यावसायिक सेवा सर्वसाधारणमाझ पुर्याउँदै सहकारीको माध्यमबाट विशिष्ट सेवा पुर्याउने सहकारी संस्थालाई सम्मान गरिएको बताए।
साझा सेवा लिमिटेडले पुस २०७४ मा स्वर्गीय कमलमणि दीक्षितको सम्झना तथा उनको योगदानको कदर गर्दै ‘कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार’ स्थापना गरेको थियो। हरेक वर्ष वितरण गरिने पुरस्कार साझा सेवा लिमिटेडले पहिलो पटक संघलाई प्रदान गरेको हो।
साझा सेवा लिमिटेडले २०२६ सालदेखि मल, ग्यास, सिमेन्ट र इन्धन सर्वसुलभ मूल्यमा बिक्री गरेर सर्वसाधारणमाझ सेवा दिँदै आएको छ।