समाचारशुक्रबार, २७ पौष , २०७५

माछी मार्नु दुवाली छेकेर (भिडियो)

हिमालखबर

मोरङको लेटाङ नगरपालिका १ र ६ बीचबाट बग्ने चिसाङ खोलामा हिजोआज माछा मार्ने मानिसको भीड लाग्छ। दिउँसोको खानापछि स्थानीयवासी माछा मार्न खोलामा जम्मा हुने गर्छन्।

खोलामा पानी कम भएकाले दुईतर्फ कुलो लगिएको छ। एकतिरको पानी ढुंगाले थुनेर सुकाइन्छ। महिलाहरू घाँटीमा बेरेको सलले माछा उगाउँछन् भने पुरुषहरू जालले। हात-हातमा तार लिएका युवाले पानीमा दौडिँदै गरेका माछालाई हिर्काएर मार्छन्।

“चिसाङ खोलाको माछा नै मिठो,” स्थानीय सुरज श्रेष्ठ भन्छन्, “दुवाली फर्काएर माछा मार्न दैनिक आउँछौं।” उनका अनुसार कहिलेकाहीं त बढी माछा फेला पर्ने गर्छन्। घरमा अघिल्लो दिन मारेकै माछा बाँकी रहन्छन्। एक पटकमा दुवाली छेक्दा ४ किलोसम्म माछा निस्किन्छन् तर धेरै जनाले माछा मार्ने भएकाले एक जनाको भागमा थोरै पर्छ।

हेर्नुहोस् भिडियो
 

खोलामा दुवाली छेकेपछि पानी घट्न थाल्छ। पानीको खोजीमा माछा माथि आउँछन्। कुरबाट बाहिर निस्केका माछालाई ठूलो समूहमा जम्मा भएका स्थानीय बासिन्दाले छेकेर मार्छन् ।

लेटाङ बहुमुखी क्याम्पसका उपप्राध्यापक लेखनाथ पौडेलका अनुसार लेटाङ खोलाका माछा स्वादिलो हंने भएकाले गाउँले खोलामा धुरिएका हुन्। थोरै माछाले पनि छाक पुग्ने भएकाले चिसाङ खोलामा हिउँद लागेपछि मानिसको मेला लाग्ने गरेको स्थानीय रामकुमार श्रेष्ठ बताउँछन्।

कमल रिमाल, विराटनगर

 

प्रतिकृया दिनुहोस