कतै तपाईंलाई डिजिटल लत त छैन ?
स्मार्टफोन, ल्यापटपलगायत ग्याजेट र डिजिटल माध्यमको सर्वसुलभतामा हुर्किरहेको पुस्ता यसको लतमा फसिरहेको छ। इन्टरनेटमा सामाजिक सञ्जालका साथै थरीथरीका एप र गेमहरूको भुलभुलैयामा रमाउने क्रममा असामाजिक हुने डिजिटल जमात बढ्दो छ।
घरपरिवार र समाजदेखि टाढिएर सामाजिक सञ्जालहरूको साथी-सर्कलमा मग्न हुने र त्यसमा अहोरात्र डुब्ने प्रवृत्ति मौलाएको छ। डिजिटल लतका प्रकार यस्ता छन्-
१. नोमोफोबिया- फोनविहीन हुनुपर्ने सम्भावनाको डर
२. फोमो- सामाजिक सञ्जालमा सामग्री पढ्न, पोष्ट गर्न र प्रतिक्रिया जनाउन पहिलो हुने प्यास
३. इन्टरनेट गेमिङ डिसअर्डर- इन्टरनेटमा गेम खेलेर समय बिताउने लत
४. इन्टरनेट एडिक्सन डिसअर्डर- दिनभरका सबै काम छाडेर इन्टरनेटमा बिताउने चाहना
५. फेसबुक एडिक्सन डिसअर्डर- फेसबुकमा पोष्ट गरेका सामग्रीमा साथीहरूबाट प्रतिक्रिया पाउने तीव्र आशा
६. सेल्फिटिस- दिनमा पाँचभन्दा बढी सेल्फी खिच्ने रहर
७. सोसल मिडिया एडिक्सन- कुनै पनि सामाजिक सञ्जाल छाड्नै मन नलाग्नेगरी लागेको नशा
८. फ्यान्टम भाइब्रेसन सिन्ड्रम- मोबाइल फोन आफूसँग नभएको बेला पनि फोन बजेको वा थर्केको आभास
९. डिजिटल पाउटिङ- डिजिटल डिभाइसमा लठ्ठ भएका कारण साथीसंगतबाट समेत टाढा रहने आदत
१०. अनलाइनमा यौन संवाद गर्ने र अश्लील भिडियो हेर्न लत
११. छिनछिनमा विचार बदलिने, लहड चल्ने तथा अनायासै डर, चिन्ता र चिडचिडाहट पैदा हुने स्वभाव
१२. एक्लिने चाहना वा सामाजिकीकरणको डर
डिजिटल लतको असर
आँखा- मोबाइल, फोन, कम्प्युटर र ल्यापटपको स्क्रिनबाट आउने नीलो प्रकाशलाई लगातार हेरिरहँदा आँखालाई निकै खतरनाक असर गर्छ। आँखा सुख्खा हुने, चिलाउने, धमिलो देख्ने र टाउको दुख्नेलगायत समस्या देखिने गर्छ।
ढाड- लगातार मोबाइल र कम्प्युटरलगायत विद्युतीय साम्रगी चलाउँदा हातका बूढीऔंला, घाँटी र कम्मरको मासंपेशी तथा नाडीको नसा च्यापिने, गर्धनको हड्डी खिइने समस्या देखापर्छन्।
मस्तिष्क- लगातार मोबाइल फोन र कम्प्युटर चलाउँदा अनिँदोपन, माइग्रेन, एङ्जाइटी, डिप्रेसनलगायत मानसिक समस्या निम्तिने गर्छ।
मुटु- लगातार डिजिटल माध्यमसँग बिताउने क्रममा पानी नखाने, खाना खान मन नलाग्ने, एक्कासी मोटाउने र दुब्लाउने हुँदा कोलेस्ट्रोलको मात्रा घटबढ हुन गई मुटुमा समस्या निम्तिने जोखिम बढ्छ।
प्रस्तुति- सविना देवकोटा