कला/साहित्यशुक्रबार, २७ पौष , २०७५

तीन पत्रकारको ‘गोपी’ १८ माघमा आउँदै

हिमालखबर

रोजगारीको खोजीमा विदेश नगई गाउँघरमै गाई पालन र खेतीमा लागेका युवाको कथा रहेको सिनेमा ‘गोपी’ १८ माघमा रिलिज हुँदैछ। सिनेमामा तीन पत्रकारहरू सामिप्यराज तिमिल्सिना, श्रीधर पौडेल र दीपेन्द्र लामा क्रमशः लेखक, कार्यकारी निर्माता र निर्देशक छन्।

उक्त सिनेमा छायांकन सकिएर पोस्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको कार्यकारी निर्माता पौडेलले जानकारी दिए। अहिले कलर करेक्सन र साउन्ड मिक्सिङको काम भइरहेको छ।

सिनेमामा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, प्रकाश घिमिरे, भोला सापकोटा र अंकित खड्काको मुख्य अभिनय छ।

“यो मेरो आफ्नै कथा हो,” अभिनेता कार्कीले भने, “मैले घाँस काटेको छु। खोले पकाएको-खुवाएको छु। स्कुल जाँदा दूधको ट्यामी बोकेर डेरीसम्म पुर्‍याएको छु।” सिनेमामा गाउँले जीवनका यी सबै गतिविधि समेटिएका छन्।

सोही कारण ‘गोपी’मा काम गर्दै गर्दा अभिनय नभई पुराना दिनको पुनरावृत्ति भएको अनुभूति गरेको कार्कीले बताए। “फिल्मले रमाइलो गराउँदा गराउँदै गम्भीर सन्देश पनि दिन्छ,” उनले भने।

खासगरी, गाई पाल्ने युवाको संघर्ष सिनेमाको मुख्य विषय हो। “गाईसँगको मानवीय संवेदना, दैनिकी, गाईपालन व्यवसाय, त्यससँग सम्बन्धित अनेक पात्रका उतारचढाव र मानवीय भावलाई प्रस्तुत गरिएको छ,” निर्देशक लामाले भने।

“देशमा पलायनको मनोविज्ञान हावी छ। जोकोही पनि देश छाड्दा मात्र सुखी हुने मनोविज्ञानमा छन्,” लेखक तिमिल्सिनाले भने, “फिल्म यस्तै मनोविज्ञानको विरुद्धमा हो। देश छाड्नुअघि हामीले देशमै केही गर्ने प्रयास गर्‍यौं कि गरेनौं, फिल्मले छेड्न खोजेको बहस हो यो।”

प्रतिकृया दिनुहोस