समाचारबिहिवार, पौष २६, २०७५

सबै प्रतिवेदन आएपछि मात्र वाइडबडी प्रकरणमा संलग्‍नहरूलाई कारवाही हुन्छ- सञ्‍चारमन्त्री

हिमालखबर

सूचना तथा सञ्‍चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले वाइडबडी विमान खरीद प्रकरणमा लेखा समितिले दोषी देखाएका कसैलाई पनि तत्काल कारवाही नगरिने बताएका छन् ।

मन्त्रिपरिषद्ले गत साता गरेका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा बाँस्कोटाले प्रतिनिधिसभाको अन्तर्राष्‍ट्रिय सम्बन्ध समिति र सरकारले गठन गरेको आयोगले विमान खरीद प्रक्रिया छानविन गरिरहेकाले हतारमा कसैलाई कारवाही नगरिने बताए । उनले भने, “यो प्रकरणको निष्पक्ष छानविन हुनुपर्छ । सरकारले कसैलाई कारवाही गर्दैन भन्‍ने होइन । सबै प्रतिवेदन आऊन्, त्यसपछि सरकारले आवश्यक निर्णय गर्छ ।”

अष्‍ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई प्रधानमन्त्री र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले निकास दिन भनेकाले १-२ दिनभित्र राजदूतले उचित निकास दिने उनले बताए ।

पत्रकार सम्मेलनमा १९ र २३ पुसमा सरकारले १४ वटा निर्णय गरेको बाँस्कोटाले जानकारी दिए । नयाँ मर्यादाक्रम स्वीकृत, नेपाली सेनाका ७ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने, महेन्द्रनगर विकास समिति विघटन, राष्‍ट्रिय अनुसन्धान विभागको प्रमुखमा गणेशकुमार अधिकारीलाई नियुक्त गर्नेलगायत निर्णय गरिएको उनले बताए ।

प्रतिकृया दिनुहोस