"आयल निगममा प्वालैप्वाल, टाल्दाटाल्दै हैरान"
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपाल आयल निगममा निकै अनियमिता देखिएको स्वीकार गर्दै विकृति अन्त्य गर्न सरकार क्रियाशील रहेको बताएका छन्।
निगमको ४९ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले निगममा जताततै प्वालैप्वाल रहेको टिप्पणी गरे। यादवले भने, “निगममा प्वालैप्वाल परेको छ, तेलमा प्वाल परेपछि कति चुहिन्छ ? ढुवानीकर्ता, ट्यांकर चालक, प्रशासक, बिक्रेता, सचिव अनि मन्त्री पनि सबैले अलिअलि भाँडो थापेकै छन्। अनि जनता जहिले पनि मारमा परेको पर्यै।”
निगममा देखिएका विकृतिको चाङ हटाउन आफूलाई निकै गाह्रो भएको बताउँदै मन्त्री यादवले आफू निगममा देखिएको प्वाल टाल्दाटाल्दै हैरान भएको बताए। उनले भने, “निगमलाई सुधार्न निकै चुनौती भए पनि ती चुनौती सामना गर्दै अघि बढेको छु।” आफू मन्त्री भएदेखि नै विकृति विसंगतिविरुद्ध लड्दै आएको उनको दाबी थियो। निगममा देखिएको अनियमिता तथा विकृतिको बन्द नगरे कसैको कल्याण नहुने चेतावनी पनि दिए।
पेट्रोलियम पदार्थका क्षेत्रमा सुधारको प्रयत्न गर्न आफूले मन्त्रालय सम्हालेदेखि नै काम गर्दै आए पनि निजी क्षेत्रले सहयोग नगरेको गुनासो गरे। इन्धनको बिक्री वितरणलाई व्यवस्थित बनाउन सरकारले विक्रेता नियमावली ल्याउने तयारी गरे पनि निजी क्षेत्रले असहयोग गरेको बताए। रासस