टिप्पणीशुक्रबार, २७ पौष , २०७५

उपत्यकाका नेवार र पृथ्वीनारायण शाह

सन्दर्भ- राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती

वसन्त महर्जन

इतिहासलाई सीमित रूपमा बुझ्ने प्रवृत्तिका कारण पृथ्वीनारायण शाह काठमाडौं उपत्यकाका नेवारहरूका दमनकारीका रूपमा चित्रित भएका छन्।

हरेक वर्ष २७ पुसअघिका केही दिन पृथ्वीनारायण शाहलाई सम्झने र ‘दिव्योपदेश’ को चर्चा गर्ने एक प्रकारको कर्मकाण्ड चल्छ। आधुनिक नेपालको इतिहासमा राजा पृथ्वीनारायणको महत्वपूर्ण योगदान रहेकामा दुईमत छैन। तर, यी राजाको प्रशंसा गर्ने र काम भने यिनकै मर्मविपरित गर्ने प्रवृत्ति छ। पृथ्वीनारायणका कुरालाई रचनात्मक रूपमा चिन्तन गर्न सकियो भने अझै पनि कतिपय भूल सुधार्न सकिन्छ।

पृथ्वीनारायण शाह भन्नासाथै गोरखाका राजा र तत्कालीन नेपालका तीन राज्य (कान्तिपुर, भक्तपुर र पाटन) को विजेताको रूपमा चित्रण गरिन्छ। इतिहाससिद्ध यो कुरालाई सीमित रूपमा हेर्दा तत्कालीन नेपाल र पृथ्वीनारायण दुवैलाई समग्र रूपमा बुझ्न सकिँदैन।

तत्कालीन नेपाल भन्नाले कान्तिपुर, भक्तपुर र पाटन शासित काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीसहितको विस्तृत भूभाग हो। त्यसको केन्द्र काठमाडौं उपत्यका हो। सम्भवतः काठमाडौं उपत्यकाको नेवार समाजसँग सम्बन्धित कला, साहित्य, संस्कृति आदिलाई बुझ्ने शाहवंशीय राजाहरूमध्ये पृथ्वीनारायण नै अग्रणी हुन्।

इतिहासका स्रोतहरू हेर्दा गोरखा राज्यको छिमेक सम्बन्ध तत्कालीन नेपालका तीन राज्यसँग मित्रवत् रहेको थाहा हुन्छ। लमजुङ, पर्वतलगायत अन्य राज्यसँग राम्रो सम्बन्ध नरहेको अवस्थामा आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा सम्पन्न काठमाडौं उपत्यकाका तीन राज्यसँग सम्बन्ध गाँसिनु गोरखाको लागि फाइदाजनक नै थियो।

गोरखामा प्राप्त दुई अभिलेखले लिच्छविकालमा गोरखा केन्द्रीय शासनअन्तर्गत थियो भन्ने देखाउँछ। पछि स्वतन्त्र गोरखा राज्यको व्यापार-व्यवसायको विकासका लागि राजा राम शाहले पाटनका व्यापारीहरूलाई लगेका थिए। उनीपछिका चौथा राजा पृथ्वीपति शाहले त कान्तिपुरको भ्रमण नै गरेका थिए। अझ, राजा नरभूपाल शाहले मितेरी सम्बन्धको रणनीतिअनुरूप युवराज पृथ्वीनारायणलाई भक्तपुरका राजकुमारसँग मीत लगाइदिएर शिक्षाका लागि त्यहीं बस्न पठाएका थिए।

गोरखाका पुराना बस्तीहरू नेवार वास्तुकलाअनुरूप नै छन्, जुन अहिले पनि देख्न पाइन्छ। गोरखा दरबारका साथै राज्यले बनाएका अन्य वास्तु संरचना पनि नेवार वास्तुकलाअनुसारकै छन्। काठमाडौं उपत्यकाका राजाहरूले आफ्नो क्षेत्रमा ढलौटको सालिक बनाएर ढुंगाको स्तम्भमाथि राख्ने गरेको देखेर नरभुपाल शाहभन्दा अगाडिका गोरखाका राजा पृथ्वीपति शाहले पनि गोरखाको पोखरीथोकमा ढुंगाको स्तम्भ र त्यसमाथि आफ्नो ढलौटको मूर्ति बनाउन लगाएका थिए। बनावट र शैली हेर्दा उक्त काम नेवार कालिगडले गरेको प्रष्ट हुन्छ। नुवाकोट विजयपछि पृथ्वीनारायण शाहद्वारा निर्मित साततले दरबार पनि नेवार वास्तुकलाको राम्रो उदाहरण हो।

पृथ्वीनारायण तत्कालीन नेपालका नेवार समुदायको कला, साहित्य, संगीत आदि सभ्यताका प्रशंसक रहेको कुरा दिव्योपदेशबाट थाहा हुन्छ। मनोरञ्जनका लागि यहींको नाचगान पर्याप्त रहेको उनको उपदेश मननयोग्य छ। उपत्यकाको सभ्यताको विकासमा यहाँको खेतीयोग्य भूमिको सम्बन्ध बुझेरै होला, उनले खेतीयोग्य भूमिमा बस्ती नबसाल्न भनेका छन्। तर, आजभोलि यो उपदेशको भावनाविपरित जथाभावी बस्ती बसालिँदैछ।

काठमाडौं उपत्यका र यहाँको नेवार संस्कृतिलाई हेर्ने पृथ्वीनारायणको दृष्टिकोण दूरदर्शी थियो। तर, त्यसलाई उनका प्रशंसकहरूले लत्याएको पाइन्छ। यिनको भावनालाई अलिकति मात्रै बुझेको भए पनि बस्तीको विस्तार अन्तै गरेर यहाँको ऐतिहासिक स्वरूप बचाउन टेवा पुग्थ्यो। खोकनालगायत क्षेत्रका उर्वर भूमि नमासी बरु अन्यत्र घुमाएर तराई जोड्ने द्रुत मार्गको निर्माण गरिन्थ्यो।

काठमाडौंको नेवार समाज पृथ्वीनारायणप्रति सकारात्मक नहुनुको खास कारण केही अपवाद छाडेर उनका प्रशंसकहरूको व्यवहार हो। उपत्यकाका तीन राज्यबीच बेलाबेला युद्ध भइरहन्थ्यो र सकेको भए एकले अर्कोलाई निल्थ्यो पनि। यस्तैमा गोरखाले यी तीनसहित अन्य राज्यहरू जितेर वर्तमान नेपालको निर्माण गरेको थियो।

युद्धमा केही कमी कमजोरी हुनसक्छन् र पृथ्वीनारायणको मामिलामा पनि त्यस्तो भयो। तर, तिनै कुरामा सीमित गरेर उनलाई प्रतिशोधले उन्मत्त आक्रमणकारीका रूपमा बुझ्ने गरिएको छ। इतिहासका अनेक प्रसंग उप्काएर पृथ्वीनारायणको हुर्मत लिइन्छ। यिनकै प्रशंसकहरूले निको हुनै लागेको घाउको खाटा उप्काउने गरी विभिन्न शब्दको प्रयोग गर्दा अन्यका लागि बिझाइदिन्छ। यस अर्थमा इतिहासका पात्र पृथ्वीनारायण आफ्नै प्रशंसकबाट प्रताडित छन्।

प्रतिकृया दिनुहोस