टिप्पणीबिहिवार, पौष २६, २०७५

इतिहास अध्ययनमा किन घट्दैछ विद्यार्थीको रुचि ?

वसन्त महर्जन

इतिहास विषयलाई आफ्नो क्षेत्र बनाएकाहरूमा अध्ययनको कमी र बुझाइमा समस्या हुँदा यसको दायरा फराकिलो हुनसकेको छैन।

एक क्याम्पसमा इतिहास विषय पढाउने क्रममा शिक्षक भन्दैथिए- ‘ऐतिहासिक तथ्यअनुसार नेपालको पहिलो प्रामाणिक राजा मानदेव हुन्। चाँगुनारायण मन्दिर परिसरमा मानदेवबारे भेटिएको अभिलेख नै हालसम्मको सबैभन्दा पुरानो अभिलेख हो।’ तत्कालै एक छात्राले उक्त तथ्यमाथि प्रश्न उठाउँदै मानदेवको भन्दा पनि पुरानो अभिलेख रहेको बताउँदा शिक्षक असमञ्जसमा परे। उनले आफ्नो बुझाइअनुसार ‘परीक्षामा मानदेवलाई नै पहिलो राजा भनेर नलेखे नम्बर काटिने’ बताए। ती छात्राले इतिहास विषय बीचैमा छाडेर अर्को विषय रोजिन्।

उच्च शिक्षामा विद्यार्थीलाई इतिहास विषयले आकर्षित गर्न नसकेको र रोजगारीलाई ध्यान दिँदै अन्य विषय/क्षेत्रमा लागेको टिप्पणी बेलाबेला सुनिन्छ। देशको इतिहासबारेको जानकारीले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने तर विद्यार्थी यस विषयमा उदासीन हुँदा देशको हालत खराब भएको भन्ने विमर्श पनि हुने गर्छ। तर, माथि उल्लिखित इतिहास विषयक कक्षामा भएको घटनाले यो विषयप्रति विद्यार्थीको अरुचि हुनुको अर्को कारण पनि उजागर गर्छ।

चाँगुनारायण मन्दिरस्थित राजा मानदेव (प्रथम) को अभिलेख सर्वप्रथम भगवानलाल इन्द्रजीले सन् १८८५ मा संकलन गरी ‘ट्वान्टी थ्री इन्स्क्रिप्सन फ्रम नेपाल’ प्रकाशन गरेका थिए। त्यतिबेला संकलित अभिलेखमध्ये पुरानो त्यही थियो र त्यसअनुसार राजा मानदेव नै प्रामाणिक पहिलो राजा थिए। तर, इतिहास यस्तो विषय/क्षेत्र हो, अनुसन्धान र खोजीका क्रममा नयाँ-नयाँ तथ्य भेटिएर सोहीअनुसार नै ऐतिहासिक तथ्यहरू परिवर्तन भइरहन्छन्। मानदेवसम्बन्धी चाँगुनारायणको अभिलेख संवत् ३८६ को हो। पछि काठमाडौंको मालीगाउँमा संवत् १०७ का राजा जय वर्माको अभिलेख भेटिएपछि इतिहास २७४ वर्ष पर धकेलियो।

इतिहास अध्ययनमा लाग्नेहरू ज्ञानको ढोकालाई खुला राखेर नयाँ कुरामा अद्यावधिक हुँदै जानुपर्छ। तर, इतिहास विषयलाई नै आफ्नो क्षेत्र बनाउनेहरूमा अध्ययनको कमी छ। फलस्वरूप उनीहरूमा बुझाइको समस्या छ भने बुझेकाहरूले बुझाउन नसकेको देखिन्छ। यसले गर्दा इतिहासको सही पठनमा पनि समस्या भइरहेको छ। उदाहरणका रूपमा, तिब्बतका राजा श्रङ्-चङ-गम्पोकी रानी भृकुटी नेपाली राजा अंशुवर्माकी छोरी होइनन् भन्ने मान्यता नेपाली इतिहास अध्येताहरूमा स्थापित भएको वर्षौं भइसकेको छ। तर, अझै पनि हाम्रा विद्यालय तथा विश्वविद्यालयहरूमा भृकुटी अंशुवर्माकै छोरी हुन् भनेर पढाइराखिएको छ।

शिक्षालाई जीविकासँग जोडेर हेर्दा विश्वविद्यालयमा इतिहास पढेर के हुन्छ भन्ने प्रश्न उठ्ने गर्छ। इतिहास क्षेत्रमा अनुसन्धानका थुप्रै काम हुन्छन् र यसबाट पनि वृत्तिविकास हुनसक्छ। पछिल्लो समय इतिहासको अनुसन्धान व्यक्तिगत लगानी र इच्छामा बढी हुने गरेको छ। विभिन्न संघसंस्था र निकायले आफ्नो जातीय, क्षेत्रीय तथा अन्य विषयमा इतिहासको अनुसन्धान गराउन बजेट छुट्याउने गरेका छन्। तर, ती संघसंस्था र निकायले त्यस्ता कामको जिम्मा विषयविज्ञलाई नदिई निकट व्यक्तिहरूलाई दिने प्रवृत्तिले समस्या भएको छ। इतिहास भन्दै कथा-कहानी र किम्वदन्तीका कुरा अगाडि सारेर विवाद निम्तिनु यसैको उपज हो। यस्तो प्रवृत्तिले इतिहासको अध्ययन तथा विकास हुनसक्दैन।

विभिन्न समयका शासक वर्गको जीवनी र वंशावलीलाई मात्र इतिहासको रूपमा प्रस्तुत गर्नु इतिहास अध्ययनमा ठूलो भूल हो। भक्तपुरको पाँचतले मन्दिरको निर्माताका रूपमा राजा भूपतिन्द्र मल्लको नाम एउटा तथ्य हो। तर, उक्त मन्दिर निर्माणको पृष्ठभूमि तथा तत्कालीन सामाजिक मूल्य र अवस्था पनि इतिहासको रोचक पाटो हो। यस्तै, सामाजिक, शैक्षिक, सांस्कृतिक, वैदेशिक पाटो तथा विज्ञान, चिकित्सा आदि विषय पनि इतिहासको अध्ययन क्षेत्रभित्र पर्छन्। तर, यी सबै क्षेत्रलाई बिर्संदै एउटै धार समातिरहँदा पनि इतिहास विषयले नयाँ पुस्तालाई आकर्षण गर्न नसकेको हो।

इतिहास भन्नासाथै यसलाई अन्य विषयबाट अलग राखेर हेर्ने गरिन्छ। तर, इतिहास अध्ययन क्षेत्रको दायरा फराकिलो पार्नु जरूरी छ। इतिहाससँग धेरै नजिकको विषय संस्कृतिका विद्यार्थीमा समेत ऐतिहासिक ज्ञानको कमी देखिन्छ। फलस्वरूप चाडपर्व र सम्पदाका कुरामा किम्वदन्ती र कहानीमा भर परेका हुन्छन्।

इतिहास विषयमा विद्यार्थी नै भएनन् र सम्बन्धित अन्य विषयमा पनि कम मात्र विद्यार्थी भएको भन्दै ती सबैलाई गाभ्ने कुरा चल्ने गर्छ। तर, यसमा सम्बन्धित विषयगत विभागका पदाधिकारीहरूको ठूलै आपत्ति हुने गर्छ। जबकि यस्तो आपत्तिको औचित्य छैन। इतिहास र संस्कृति विभाग छुट्टिनुको एउटै कारण हो, जुँगाको लडाइँ। विभाग प्रमुख बन्ने मोहमा यिनलाई टुक्र्याइयो। जबकि यी दुई विभागमा पढाइने कतिपय विषय दोहोरिएका छन्। गाभ्न मिल्नेसम्मका विभागहरू गाभिँदा बेफाइदा छैन। बरु विद्यार्थीलाई रुचिअनुसारका धेरै विषय छान्ने अवसर प्राप्त हुन्छ।

प्रतिकृया दिनुहोस