शरीरका लागि घातक कुर्सी
पहिले पहिले मानिसलाई लामो समय एकै ठाउँमा बसेर काम गर्ने सुविधा थिएन। खेतीपाती, शिकार र अन्य कामका लागि शारीरिक श्रम गर्नै पर्थ्यो। तर, आधुनिक युगमा मानिसले गर्ने काम पहिलेजस्तो छैन। एक ठाउँबाट अर्को ठाउँमा जानलाई यातायातका साधन छन्, धेरै काम कुर्सीमा बसेरै गरिन्छ। आधुनिक प्रविधिको विकासले मनोरञ्जन र खेललाई पनि मोबाइल र कम्प्युटरमा ल्याइदिएको छ। हामीले शारीरिक परिश्रम गर्न छोडेका छौं। हाम्रो शरीर भने पहिलेजस्तै श्रम खोजिरहन्छ।
हामी कुर्सीमा बसेर काम गर्ने, गफ गर्दा कुर्सीमै बस्ने, पढ्न-लेख्न परे पनि कुर्सीमै र खाना खाँदा पनि कुर्सीमै बसिरहेका हुन्छौं। शौचालयमा पनि प्यानको साटो कमोडको प्रयोग बढ्नुका पछाडि ‘चेयर ह्याबिट’ नै मूल कारण भएको बताइन्छ। तर, हामीले ख्याल गरिरहेका हुँदैनौं, लामो समय कुर्सीमा बस्नु स्वास्थ्यका लागि कति घातक हुन्छ।
स्वास्थ्य विज्ञानसम्बन्धी अमेरिकी पोर्टल 'साइन्टिफिक अमेरिकन'मा प्रकाशित लेखअनुसार दिनमा आधाभन्दा धेरै समय कुर्सीमा बस्ने मानिसमा मधुमेह र मुटुसम्बन्धी रोग लाग्ने सम्भावना दुई गुणा बढ्छ। लगातार कुर्सीमा बसिरहँदा शरीरका मांसपेशीहरू सक्रिय नहुने, रक्तसञ्चारमा बाधा पुग्ने, मस्तिष्कमा अक्सिजनको कमी हुने, मोटोपन बढ्ने सम्भावना हुन्छ। त्यसैगरी हड्डीसम्बन्धी समस्या आउने, पाचन प्रणालीमा अवरोध आउने सम्भावना पनि अत्यधिक हुन्छ। खाना खाँदाबित्तिकै कुर्सीमा बस्दा रगतमा चिनीको मात्रा बढ्ने सम्भावना पनि धेरै हुन्छ।
अमेरिकन जर्नल अफ नर्सिङमा प्रकाशित एक शोधका अनुसार लामो समयसम्म एकै ठाउँमा बसिरहँदा हुने नोक्सानीको पूर्ति साँझबिहान गरिने कठोर व्यायामबाट पनि हुन सक्दैन।
चिकित्सकहरू कुर्सीमा नबसी नहुनेबाहेक अरू बेला उभिन वा कोठाभित्रै भए पनि केही कदम हिँड्न सल्लाह दिन्छन्। मोबाइल फोनमा कुरा गर्दा कुर्सीमा नबसी उठेर वा हिँड्दै कुरा गर्न सकिन्छ। थोरै भए पनि हिँडडुल गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने भएकाले कार्यालयभित्र आपसमा कुरा गर्दा, फेसबुक वा इमेलको प्रयोग नगरी सहकर्मी भएको ठाउँसम्म जानु पनि स्वास्थ्यको दृष्टिकोणले उपयुक्त मानिन्छ।
त्यस्तै, अट्याच बाथरुममा भन्दा १-२ तला मुनि वा माथिको बाथरुम प्रयोग गर्ने, टेबलमा खाना मगाएर खानुभन्दा भान्सासम्म वा अलिक परको रेस्टुराँसम्म हिँड्दै पुग्नु पनि उपयुक्त हुन्छ।
तर पनि, हामीमध्ये धेरैलाई लामै समय कुर्सीमा बसेर काम गर्नुपर्ने बाध्यता हुनसक्छ। त्यसैले कुर्सीमा बस्दा निम्न कुरामा ध्यान दिनुपर्छ।
कुर्सीमा बसेर काम गर्दा ढाडलाई सोझो पारेर बस्नुपर्छ। ढाडले पछाडिबाट पर्याप्त मात्रामा सहारा पाइरहेको हुनुपर्छ। घुँडा आसनभन्दा केही तल झुकेको हुनुपर्छ। लत्रिएर, कुप्रिएर बस्दा ढाडको समस्या आउँछ।
कम्प्युटरमा काम गर्नेले किबोर्डमा हात पुर्याउँदा नाडीदेखि कुहिनोसम्मको भाग सीधा राखेर अड्याउन मिल्ने गरी कुर्सी र टेबलको साइज मिलाउनुपर्छ। त्यसैगरी, कुहिनोदेखि माथिको भाग शरीरको दायाँबायाँ सीधा भएको हुनुपर्छ, पूरै हात एल आकारको हुने गरी।
खुट्टा भुइँमा पूरै टेकिएको हुनुपर्छ। टेकिँदैन भने आवश्यकता अनुसार ‘फुट रेस्ट’ को प्रयोग गर्न सकिन्छ।
कम्प्युटरको स्क्रिन आँखाको उचाइमा र सामुन्ने हुनुपर्छ। स्क्रिन आँखाको लेभलभन्दा माथि वा मुनि भयो भने गर्धनको मांसपेशी र हड्डीमा समस्या आउन सक्छ।
काम गर्दा आवश्यक पर्ने सामानहरू नजिकै राख्नुपर्छ। बसेको बेला गलत तरिकाले शरीरलाई खुम्च्याउने, निहुरिने र तन्काउने गर्दा समस्या आउन सक्छ। कुर्सीमा आधा घण्टासम्म लगातार बसिसकेपछि एक पटक उठेर केही कदम हिँड्नुपर्छ।