अन्तरिक्षबाट रहस्यमय रेडियो सिग्नल रेकर्ड
बीबीसी
खगोलविद्हरूले १ अर्ब ५० करोड प्रकास वर्ष टाढाको ग्यालेक्सीबाट आएको रहस्यमय रेडियो सिग्नल रेकर्ड गरेका छन्। क्यानाडास्थित एक टेलिस्कोपले उक्त सिग्नल पत्ता लगाएको हो।
उक्त रेडियो सिग्नल कुन ग्रहबाट आएको हो भन्ने स्पष्ट भएको छैन। ‘फास्ट रेडियो बर्स्ट’ (एफआरबी)को नामबाट चिनिने तीव्र गतिका १३ वटा सिग्नल रेकर्ड भएका छन्। दोहोरिएर आएका ती सिग्नलको स्रोत एउटै थियो।
“यसबाट अन्तरिक्षमा अन्य कुनै बस्तु रहेको संकेत मिल्छ,” युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाका खगोलशास्त्री इंग्रिड स्टेयर्सले भने, “थप रिपिटरहरू र स्रोतबाट ती सिग्नल कहाँबाट आएका हुन् र के सन्दर्भ हो भन्ने पत्ता लगाउन सकिनेछ।”
ब्रिटिश कोलम्बियाको ओकानगन उपत्यकास्थित चिमे अब्जरभेटरीमा ४ वटा सय मिटर लामा, अर्ध बेलनाकार एन्टेना छन्, जसले हरेक दिन पूरै आकाशको स्क्यान गर्छन्।
एफआरबीहरू छोटा र चमकदार रेडियो तरंगहरू हुन्, जुन पूरै ब्रम्हाण्डको करीब आधा क्षेत्रमा देखिने गर्छन्। हालसम्म वैज्ञानिकहरूले ६० वटा यस्ता तरंग रेकर्ड गरेका छन्, तीमध्ये २ वटा दोहोरिएर आएका थिए। अन्तरिक्षमा रेडियो तरंग उत्पन्न हुने धेरै सिद्धान्त प्रतिपादन भएका छन्। खासगरी, त्यसको कारण जान्ने प्रयासमा वैज्ञानिकहरू काम गरिरहेका छन्।
अन्तरिक्षमा एक मजबुत चुम्बकीय क्षेत्र रहेको वैज्ञानिकहरूको विश्वास छ, जसमा २ वटा न्युट्रोन ताराहरू विलय हुने क्रममा छन्। ती रेडियो तरंग सोही चुम्बकीय क्षेत्रबाट उत्पन्न भएको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ।
वैज्ञानिकहरूले सन् २००१, २००७ र २०१५ मा पनि यस्ता एफआरबीहरू रेकर्ड गरेका थिए। ब्रम्हाण्डमा जीवनको खोजीमा लागेका स्वर्गीय स्टेफन हकिङले भने पृथ्वीबाहेकका ग्रह र ताराहरूमा अर्को जीवन नरहेको र यस्ता रेडियो तरंगहरू ‘ब्ल्याक होल’को निर्माण र नयाँ ग्रह/ताराहरू बन्ने क्रममा उत्पन्न हुने गरेको दाबी गरेका थिए।