सिन्धुलीमा फिक्कल महोत्सव
सिन्धुलीको पर्यटकीय स्थल फिक्कलको प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिने भएको छ। जिल्लाकै सबैभन्दा अग्लो फिक्कल डाँडालाई विश्वसामू चिनाउन २ माघदेखि महोत्सव आयोजना गर्न लागिएको फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले जानकारी दिए।
फिक्कल डाँडाको उचाइ ७ हजार ७७१ फिट छ। यहाँबाट उत्तरतिर विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथालगायत १४ वटा हिमशृंखला देख्न सकिन्छ। दक्षिणतर्फ रमणीय डाँडाकाँडा तथा तराईको समतल फाँट नियाल्न सकिन्छ।
यहाँबाट देख्न सकिने सूर्योदय र सूर्यास्तको दृष्य अत्यन्तै मनमोहक हुने फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले बताइन्। फिक्कलको उत्तरतिर रहेको महाकाली देवीस्थान नजिकमा रहस्यमय प्राकृतिक गुफाहरू छन्। आसपासका वन जंगलमा बहुमूल्य जडिबुटी पाइन्छन्।
धार्मिक तथा प्राकृतिक विशेषतायुक्त फिक्कललाई पर्यटकीयस्थलका रूपमा स्थापित गराई आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धन गर्न गाउँपालिकाको नाम फिक्कल राखिएको उपाध्यक्ष सुनुवारले बताइन्। उनी महोत्सव आयोजक समितिकी संयोजक पनि हुन्।
स्थानीय उत्पादनको प्रचारप्रसार, बिक्री एवं प्रवर्द्धन गर्न साझा, औपचारिक र अल्पकालीन बजार उपलब्ध गराउने उद्देश्य महोत्सवको छ। स्थानीयस्तरमा गरिएको किवी खेती र आलु पकेट क्षेत्रको दृश्यावलोकन गराउने, गाउँपालिका क्षेत्र भएर बग्ने सुनकोशी नदीमा र्याफ्टिङ गराउने उद्देश्य महोत्सवले लिएको सुनुवारले बताइन्। ६ दिनसम्म चल्ने महोत्सवमा १ लाख पर्यटक भित्र्याउने लक्ष्य छ।
स्थानीय कच्चा पदार्थबाट निर्मित बाँस, काठ, दुग्धजन्य बस्तु तथा अल्लोका कपडाहरूको प्रदर्शन, गाउँपालिकाभित्रका मौलिक उत्पादनहरूको प्रतियोगितात्मक प्रदर्शनी, वित्तीय संस्था तथा अन्य सेवामुलक संघ-संस्थाहरूको सेवाबारे जानकारी, प्याराग्लाइडिङ पनि महात्सवका आकर्षण हुनेछन्।
यस्तै, सुनुवार, राई र मगर जातिका झाँकी तथा नृत्य, बाम्हण जातिको भजन, ख्याति प्राप्त कलाकारहरूबीच दोहोरी गीत कार्यक्रम र सर्कसहरू महोत्सवमा आकर्षणका रूपमा रहने छन्।