टिप्पणीबिहिवार, पौष २६, २०७५

हाटबाट हराएको सुवास

चन्द्रकिशोर

शहरी आवश्यकतालाई देहातको श्रम र परम्परागत सीपसँग समन्वय गर्न सकियो भने जनशक्ति पलायन रोक्न र परम्परागत ज्ञानको संरक्षण गर्न बल पुग्नेछ।

तराईमा शहरहरूको निर्माण बजारका रूपमा भयो। आज पनि देहातका बासिन्दाहरू नजिकको शहरलाई बजारकै रूपमा चिन्छन्। बजारको पुरानो रूप हाट हो। त्यसैले हाटसँग बजार पनि जोडेर हाट-बजार भन्ने चलन छ।

खेतीमा हलोको प्रयोग हुन थालेपछि आफूसँग भएको अधिक अन्नलाई बेच्ने क्रममा हाटको अवधारणा विकसित हुनपुग्यो। फाजिल अन्नसहित अन्य वस्तुहरू खरीद-बिक्रीका लागि जमघट हुने स्थानलाई हाट-बजार भनियो। पुराना हाट-बजारहरू यतिखेर ठूला शहर वा जिल्लाको सदरमुकामको रूपमा विकसित भएका छन्। अहिले स्थानीय तहका केन्द्र रहेका कतिपय ठाउँहरू साविकका बजार नै हुन्।

देहाती बजारको विकासमा सामन्तवर्गको भूमिका पनि रहँदै आयो। धार्मिक अनुष्ठानको पूर्णाहुतिका लागि चाहिने सामग्रीहरू यहाँ उपलब्ध हुन थाले। पारम्परिक शिल्पी वर्गले आफ्ना सिर्जना र उत्पादन यहीं ल्याएर बेच्न थाल्यो। विस्तारै हाटले स्थायी रूप पाउँदै गयो।

हाट-बजारको चलनबारे पुराना साहित्यहरूमा पनि चर्चा पाइन्छ। करीब सातौं शताब्दीपूर्व मैथिली भाषामा लेखिएको ज्योतिरीश्वर ठाकुरको वर्णरत्नाकर गद्य काव्य एवं धूर्तसमागम नाटक र त्यसपछिका विद्यापतिको कीर्तिलता, दानवाक्यावली र पदावली जस्ता काव्य रचनामा ‘हाट, बजार’ उल्लेख भएको छ। विद्यापतिकालीन मिथिलामा हाट र बजार शब्द पर्यायवाची थिए। उनकै कतिपय काव्य पंक्तिहरूमा भने ‘हाटबजार’ एकै ठाउँमा प्रयोग भएको छ।

प्रत्येक हाट-बजारहरूका आफ्नै महत्व र विशेषता थिए। कुनै हाट ठूलो परिमाणको खरीददारीका लागि चिनिएका थिए। कुनै निश्चित गाउँहरूका लागि महत्वपूर्ण थिए। कुनै हाट पशुको खरीद-बिक्रीका लागि त कुनै सागसब्जी र माछामासु मात्रैका लागि प्रख्यात हुन्थे।

गाउँका बजारमा बिक्रेता गाउँकै भए पनि बेचिने सामान भने शहरबाट किनेर ल्याइएको हुन्छ। जबकि पहिला गाउँको बजारबाट शहरमा सामान जान्थ्यो।

कतै पहाड र मधेशका उत्पादनहरूको संगम पनि हुन्थ्यो। कुनै हाट काठ त कुनै फलाम वा पित्तलका सामग्रीका लागि चर्चित थिए। साताको निश्चित बारमा हाट लाग्ने हुँदा स्थानविशेषको नाम पनि त्यही बारका आधारमा रहेका प्रशस्तै उदाहरण छन्। यी हाट-बजारहरू ग्रामीण अर्थतन्त्रका सञ्जीवनी थिए।

हाट-बजारमा ग्रामीण उत्पादनकै बाहुल्य हुन्थ्यो। खेतबारीको उब्जनी, माटोका भाँडाकुडा, काठका सामग्री, खेती किसानीमा चाहिने औजार यहाँ उपलब्ध हुन्थे। हँसिया-खुर्पीमा साँध लगाउने काम हुन्थ्यो। कपाल काट्ने, कपडा इस्त्री गर्नेहरूका लागि यहाँ अवसर हुन्थ्यो। स्थानीय जडीबुटी बेच्न ल्याइन्थ्यो। शुरूमा ताडी पाइने हाटमा विस्तारै रक्सीले बजार फैलायो।

“शहरी औद्योगिक उत्पादनले वर्चस्व जमाउँदै जाँदा अब देहातका बजारहरूमा स्थानीय उत्पादन निकै कम देखिन्छन्,” ग्रामीण बजारका अध्येता कृष्णदेव लाल कर्ण भन्छन्। देहाती खानेकुराको परिकारको ठाउँ शहरी ‘मेन्यू’ ले ओगटेको छ। फलस्वरुप गाउँको आत्मनिर्भरता घट्दै गएको छ।

गाउँका बजारमा बिक्रेता गाउँकै भए पनि बेचिने सामान भने शहरबाट किनेर ल्याइएको हुन्छ। जबकि, पहिला गाउँको बजारबाट शहरमा सामान जान्थ्यो। बदलिएको यो स्थितिले हाट बजारमा देहातको सुवास हराउँदै गएको आभास हुन्छ।

शहरिया सामग्रीको बिगबिगीसँगै अखाद्य वस्तु पनि ग्रामीण बजारमा पुगिरहेको छ। चाउचाउ, गुलिया पेयपदार्थ र म्याद गुज्रिएका तेलहरू छ्यापछ्याप्ती पाइन्छ। अब यस्ता कुराहरूको अनुगमन र नियमनका लागि स्थानीय सरकार अघि सर्नुपर्छ।

कृषि बजारको व्यवस्थामा पनि सुधार ल्याउन आवश्यक छ। लाभ जति विचौलियाले लिइरहँदा किसानले आफ्नो उपजको बिक्रीबाट फाइदा उठाउन सकिरहेका छैनन्। गाउँ-देहातका शिल्पीहरूले निर्माण गरेका सामग्रीलाई बाहिरका फेन्सी उत्पादनले विस्थापन गरिरहेका छन्। यस पृष्ठभूमिमा ग्रामीण बजारहरूमार्फत कसरी स्थानीयवासीले लाभ बटुल्न सक्छन्, त्यतातिर स्थानीय सरकारले ध्यान दिनुपर्छ। यसो गर्न सकियो भने मात्रै ग्रामीण अर्थतन्त्र उँभो लाग्न सक्छ।

अध्येता कर्ण भन्छन्, “प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रका बजारहरूको सम्भावना अध्ययन गराउनुपर्छ। बजारको पारम्परिक सामर्थ्य र विकासको सम्भावनालाई जोड्न सकियो भने स्थानीयलाई लाभ पुग्छ।” हो पनि परम्परागत देहाती हाट-बजारलाई जनजीविकासँग जोडेर जीवन्त बनाउन सकियो भने यी बजारहरू देहातका आर्थिक मेरुदण्ड बन्न सक्छन्।

प्रतिकृया दिनुहोस