कालिञ्चोकमा अब स्की पर्यटन
दोलखाको धार्मिक एवं पर्यटकीय केन्द्र कालिञ्चोकमा स्की तथा इस्नोबोर्डिङ प्रतिष्ठान काठमाडौंको आयोजनामा स्की उत्सव शुरु भएको छ।
दुई महिनासम्म सञ्चालन हुने उत्सवमा स्थानीय युवालाई स्की प्रशिक्षणसमेत दिइने प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले बताए।
उत्सव उद्घाटन गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा नेपाल स्की एसोसिएसनका अध्यक्ष जीवनराम श्रेष्ठले हिउँमा खेलिने स्कीले मुलुकको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने बताए।
समुद्री सतहबाट ३८४२ मिटरमा रहेको कालिञ्चोकमा पुसदेखि फागुनसम्म हिमपात हुने गर्छ। यस वर्ष २ पटक हिमपात भइसकेको छ। कालिञ्चोक क्षेत्रमा विशेषगरी माघ र फागुनमा बाक्लो हिउँ जम्ने गरेको छ। काठमाडौंबाट १३३ किलोमिटरको यात्राबाट चरिकोट पुगेपछि १७ किमि उक्लिएर कालिञ्चोक पुग्न सकिन्छ।
शर्मिला बुढाथोकी, दोलखा