समाचारबुधबार, २५ पौष , २०७५

रायसिना संवादमा नेपालका ३ प्राथमिकता

हिमालखबर

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रायसिना संवादको चौथो संस्करणलाई सम्बोधन गर्न २६ पुसमा भारतको राजधानी नयाँदिल्ली जाँदैछन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ।

सोही दिन मन्त्री ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतीय विदेश मन्त्रालयको सहकार्यमा ‘अब्जर्भर रिसर्च फाउण्डेसन’ले आयोजना गर्दै आएको रायसिना संवादको यस वर्षको विषय ‘अ वर्ल्ड री-अर्डरः न्यू जोमेट्रिक्स, फ्लुड पार्टनरसिप, अन्सर्टेन आउटकम्स’ छ।

मन्त्रालयका अनुसार २७ पुसमा स्वदेश फर्किने मन्त्री ज्ञवालीले नयाँदिल्लीमा भारत सरकारका उच्च अधिकारीहरूसँग समेत भेटघाट गर्ने तय भएको छ। मन्त्रालयले कोसँग भेटघाट हुने भन्ने विज्ञप्तिमा खुलाएको छैन।

सन् २०१६ मा शुरु भएको रायसिना संवाद एक बहुपक्षीय सम्मेलन हो। भूराजनीति तथा भू-अर्थशास्त्रमाथि सम्मेलन केन्द्रित हुने गरेको छ। सिंगापुरमा हुँदै आएको ‘सांग्रिला डायलग’को मोडलमा रायसिना संवाद हुने गरेको छ। नयाँदिल्लीस्थित रायसिना हिलको नामबाट यसको नामाकरण गरिएको हो।

मन्त्री ज्ञवालीका अनुसार यस वर्षको रायसिना संवादमा नेपालले ३ वटा विषयलाई मुख्य जोड दिनेछ। पहिलो, विश्व राजनीतिमा देखा परेको प्रक्षेपण र अनुमान गर्न नसकिने स्थितिलाई नेपालले उठाउनेछ। “बहुपक्षीय संयन्त्रहरू जसरी कमजोर हुने र कतिपय मुलुक एक्लै अगाडि बढ्न खोज्ने प्रवृत्तिप्रति नेपालले बहुपक्षीयता, साझा सहकार्य र नियममा आधारित विश्व व्यवस्थाको पक्षमा जोड दिनेछ,” मन्त्री ज्ञवालीले हिमालखबरसँग भने।

उनका अनुसार दोस्रो विषय नेपाल-भारत सम्बन्धका विविध आयामहरू खोतल्नु रहनेछ। “पछिल्लो समय हामी कसरी अगाडि बढ्न खोजिरहेका छौं भन्ने विषयलाई जोड दिइनेछ,” उनले भने। र, तेस्रो विषय नेपालले चाहेको क्षेत्रीय र विश्व व्यवस्थामा केन्द्रित हुनेछ। “नेपालजस्ता विकासशील मुलुकका लागि कस्तो खालको ‘आर्किटेक्चर’ जरुरी हुन्छ भन्ने विषयमा कुरा गर्नेछौं,” मन्त्री ज्ञवालीले भने।

प्रतिकृया दिनुहोस