लिग कप सेमिफाइनल- विवादास्पद गोलसँगै टोटनहमद्वारा चेल्सी पराजित
लण्डनका प्रतिद्वन्द्वी क्लब चेल्सी र टोटनहम हटस्पर्सबीच बुधबार बिहान भएको लिग कप (काराबाओ कप) सेमिफाइनलको पहिलो लेगमा टोटनहमले १-० को जित हात पारेको छ।
घरेलु मैदान वेम्बली स्टेडियममा सम्पन्न खेलमा टोटनहमले पहिलो हाफमा पाएको पेनाल्टीमा ह्यारी केनले गरेको गोल नै निर्णायक बन्यो। चेल्सीका गोलरक्षक केपाले टोटनहमका स्ट्राइकर केनलाई पेनाल्टी बक्समा लडाएपछि टोटनहमले पेनाल्टी पाएको थियो।
तर, यो पेनाल्टी ठूलो विवादमा पर्यो। भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोगमा दिइएको यो पेनाल्टीप्रति चेल्सीका व्यवस्थापक माउरिजिओ सार्री पूरै असन्तुष्ट देखिए। पोस्ट म्याच कन्फ्रेन्समा सार्रीले भने- “इङल्याण्डका रेफ्री यस्तो प्रविधि प्रयोग गर्न सक्ने गरी सक्षम भएकै छैनन्। केन प्रष्ट अफसाइड थिए।”
शुरुमा अफसाइड दिइसकेका रेफ्रीले भीएआरको सहयोगमा पेनाल्टीको निर्णय सुनाएका थिए।
सेमिफाइनलको दोस्रो लेग चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ। फाइनल पुग्न दोस्रो लेगमा चेल्सीले २-० वा स्पष्ट दुई गोल अन्तरले जित्नुपर्नेछ भने टोटनहमले बराबरी खेले पुग्नेछ।