समाचारबुधवार, पौष २५, २०७५

गोविन्दराज जोशी कांग्रेसबाट निष्कासित

हिमालखबर

तनहुँमा पार्टीको विशेष जिल्ला अधिवेशनको तयारी गरिरहेका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई पार्टी केन्द्रीय कार्यालयले साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ।

कांग्रेस नेता गोविन्दराज जोशी ।

सदरमुकाम दमौलीमा कार्यालयसमेत खोलेर जोशीले ८ माघमा पार्टीको विशेष जिल्ला अधिवेशन गराउने घोषणा गरेका छन्।

पार्टी केन्द्रीय कार्यालयका महासचिव कृष्णप्रसाद पौडेलले तनहुँ जिल्ला कार्यसमितिलाई पत्र पठाउँदै जोशीको नाम नलिई गत प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिएका नेताहरू २१ वैशाख २०७५ देखि पार्टीमा नरहेको उल्लेख गरेका छन्।

“आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका तथा त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थक बनेकाहरूको सदस्यता २१ वैशाख २०७५ देखि नै स्वतः नरहेको जानकारी गराइन्छ,” पार्टीको तनहुँ जिल्ला कार्यसमितिलाई सम्बोधन गरिएको पत्रमा उल्लेख छ।

जोशीले २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएका थिए। जोशीले नैतिक पतन देखिने फौजदारी कसूर भ्रष्टाचारमा विशेष अदालतबाट सजाय पाएको देखिन आएको उल्लेख गर्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो।

जोशीकै गतिविधिका कारण कांग्रेस वरिष्ठ नेता पौडेल ६ हजार ४१४ मतान्तरले तत्कालीन एमालेका उम्मेदवार किसनकुमार श्रेष्ठसँग पराजित भएका थिए।

प्रतिकृया दिनुहोस