भारतले गण्डक नहरमा ढिलो पानी छाड्दा गहुँखेती प्रभावित
भारतीय पक्षले गण्डक नहरमा ढिलो पानी छोड्दा पर्सा, बारा तथा रौतहटको गहुँखेती प्रभावित भएको छ।
भारतीय पक्षले गण्डक नहरमा २५ डिसेम्बर (१० पुस) भित्र पानी छोडिसक्नुपर्ने सम्झौता छ। तर, नहरको मूलढलानमा २ साता ढिलो पानी आएको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय वीरगञ्जका प्रमुख राजेन्द्रप्रसाद साहले बताए। उनले भने, “गहुँको बीउ छर्ने समयमा पानी नछाड्दा गहुँखेती प्रभावित भएको छ।”
भारतीय पक्षले ८५० क्युसेकमध्ये यस वर्ष नहरमा ५४० क्युसेक मात्र पानी छाडेको छ। उक्त पानी पर्सा र बारामा हुने गहुँखेतीका लागि मात्र पुग्ने तथा आवश्यक भएको खण्डमा मात्र रौतहटमा छोडिने डिभिजन प्रमुख साहको भनाइ छ।
“मध्य तराईको अन्नको भण्डार मानिने पर्सा, बारा र रौतहट जिल्लाका किसान गण्डक नहरमा समयमा पानी नछाड्दा गहुँखेती राम्रोसँग गर्न सकिएको छैन,” किसान शेषमन पण्डितले भने, “आकाशे पानीको भरमा थोरै बीउ लगायौं, पानी अभावमा पूर्ण रूपमा गहुँखेती गर्न सकिएको छैन।”
कतिपय ठाउँमा साना सिँचाइमार्फत किसानले गहुँखेती गरेको सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रले जनाएका छन्। भारतीय पक्षले नेपालतर्फको ८१ किलोमिटर लामो गण्डक नहरमा वर्षको दुईचोटि पानी छोड्ने गर्छ। भारतीय भूमि हुँदै गण्डक नहरको पानी पर्साको जानकी टोलाबाट शुरु भई बारा हुँदै रौतहटको वागमती नदीमा मिसिने गर्छ। रासस