मालपोतका लेखा अधिकृत १ करोड ७१ लाख हिनामिना गरी फरार
जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु १ करोड ७१ लाख हिनामिना गरी फरार भएका छन्।
कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी २५ मंसीरदेखि नै सम्पर्कविहीन छन्। आन्तरिक लेखा परीक्षण (आलेप)का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको पौडेलले बताए।
गत आर्थिक वर्षको लेखा परीक्षण गर्दा उनको नाममा रु १ करोड ७१ लाख बेरुजु देखिएको थियो। दर्जीले जग्गा रजिष्ट्रेशनको रकम बैंकमा दाखिला नगरी आफैंले प्रयोग गरेको खुलेको छ।
६ मंसीरमा मालपोत कार्यालयले दर्जीको नाममा एक साताभित्र रकम दाखिला गर्न पत्र काटेको थियो। ५ पटकसम्म पत्र काटे पनि दर्जीले अटेर गरेका थिए।
२० मंसीरमा आन्तरिक लेखा परीक्षकले २४ घण्टाभित्रै रकम दाखिला गर्न पत्र दिएका थिए। तर, दर्जीले कार्यालयमा आएर सबै पैसा आफैंले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानूनअनुसार जस्तोसुकै कारवाही भोग्न पनि तयार छु भनेर सनाखत गरेर गएको कार्यालय प्रमुख पौडेलले बताए।
सोही दिनदेखि उनी फरार छन्। पौडेलका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पूर्ण कागजात झिकाएर अनुसन्धान गरिरहेको छ। दर्जीका सबै बैंक खाता रोक्का गर्न लगाइएको छ।
भरतपुर महानगरपालिका-१० स्थित सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्समा दर्जीको पनि साझेदारी रहेको खुलेपछि त्यसको कारोबार रोक्का गरिएको पौडेलले बताए। रासस