रिपोर्टबुधबार, २५ पौष , २०७५

अमेरिकी हजुरआमाको नेपाल मोह

“कस्ता हँसिला मान्छे, कति रसिलो ठाउँ !”

गोपाल गडतौला

अमेरिकी नागरिक ओल्गा मुरे (९३) लाई सानैदेखिको डुलघुम गर्ने आदतले डोर्‍याएर भारत ल्यायो। त्यो पनि ६१ वर्षको उमेरमा। तर, सन् १९८४ को त्यो भारत भ्रमण ठीक भएन। जताततै हिंसा र तनाव भड्किएको बेला थियो। तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्याले पूरै भारत अशान्त थियो। त्यस्तो भएको थिएन भने शायद उनी भारतकै केही भाग घुमेर न्युयोर्क फर्किन्थिन्।

ललितपुर एकान्तकुनास्थित आफ्नो निवासमा अमेरिकी नागरिक ओल्गा मुरे (९३)।

अशान्त हिन्दुस्तान ओर्लनुपूर्व उनले कतै चीन र भारतको बीचमा एउटा हरियालीयुक्त शान्त मुलुक छ भन्नेसम्म सुनेकी थिइन्। भारतमा रहेर दक्षिण एशियाली समाजलाई नजिकबाट नियाल्ने सपना पूरा नभएपछि उनी नेपाल छिरिन्। काठमाडौंमा भर्खर सांग्रिला होटल बन्दै थियो। त्यहीं बास बसिन्।

अहिलेभन्दा ज्यादा सफा, खुला र कम कोलाहलपूर्ण काठमाडौंका सडकमा विनातालिका र विनागन्तव्य घुमिन्। एउटा सफा बिहान त्रिभुवन विमानस्थलबाट पोखरा उडिन्। ट्रेकिङकी सोखिन उनी सिक्लेस हान्निइन्। उनलाई स्वर्गै पुगेजस्तो भएछ। पोथ्रा समाउँदै डाँडा चढिन्। चम्किलो अनुहारमा अरू खुशी थप्दै उनको मुखबाट फुत्कियो, “कस्ता हँसिला मान्छे, कति रसिलो ठाउँ !”

पिठ्युँमा भारी बोके पनि हाँस्दै, इत्रिँदै र गफिँदै एकअर्काको हात समातेर सडकमा हिँडिरहेका तन्नेरी देख्दा उनी मज्जा मानेर हेर्थिन्। दुःख थियो तर दुःखको अनुभूति नगरी एकटकनासको जीवन चलाइहेका देहाती मान्छेहरूको हँसमुख चेहरा र सहयोगी भावनाले उनमा नेपालप्रति मोह जगायो।

३० वर्षअघि परोपकार अनाथ आश्रमका ४ विद्यार्थीलाई पहिलोपटक सन् १९८५ मा जनही ३०० डलरका दरले सहयोग गरेको सम्झिने अमेरिकी नागरिक ओल्गा मुरेले ललितपुरको चुनिखेलमा ‘ओल्गापुरी’ बनाएकी छन्, जहाँ हाल ८० बालबालिका बसेर पढिरहेका छन्।

नानीहरू स्कुल नगएको देख्दा भने उनको मन कुँडिन्थ्यो। केही महिना नेपाल रहेर उनी अमेरिका फर्किन्। तर, एउटा सपना बोकेर। उनले काठमाडौं र पोखरा वरपर घुम्दा मनमा कोरलेको सपना थियो, फेरि पनि नेपाल आउने, इलम र शिक्षाको क्षेत्रमा काम गर्ने। यसरी नै हो, कोलम्बिया विश्वविद्यालयकी सन् १९४९ की कानून स्नातक अमेरिकी वकिल उनी ‘ओल्गा ममी’ बनेको पनि।

उनको जन्म हंगेरीमा भयो। ६ जुन १९३१ मा परिवारसाथ अमेरिका पुगिन्, जतिबेला उनी ६ वर्षकी थिइन्। छोराछोरीलाई राम्रो शिक्षा दिलाउन उनका बाबुले अमेरिका बसाईं सारेका थिए। उनका एक दाजु अमेरिकी सेनामा भर्ति भए। दोस्रो विश्वयुद्ध चलिरहेको थियो। भन्छिन्, “युद्धको दुःख र पीडा मैले घरमै सुनेकी हुँ।”

सन् १९८४ मा पहिलोपटक नेपाल आएकी ओल्गा यसबीचमा ३४ पटक नेपाल आइसकेकी छन्। पूर्वदेखि पश्चिमसम्मका पहाडी पाखाहरू चहारेकी छन्। पश्चिम नेपालको दाङलगायत ठाउँमा पुग्दा कमलरी बसेका छोरीहरू देखिन्। वर्षभरिका लागि ५-६ हजारमा साहुको घरमा ‘नोकर’ बसेका छोरीहरू देख्दा उनलाई नमिठो लाग्यो। उनीहरूलाई मद्दत गर्ने योजना बुनिन्।

दाङमा थारू किशोरीहरूसँग ।

त्यति नै कमाइ आफ्नै घरमा बसेर गर्नसक्ने बनाउनका लागि एउटा सुँगुर वा बाख्राको पाठो पाल्न दिने निधोमा पुगिन्। त्यसबाट आफ्ना लागि मिहिनेत गर्ने बानी र थोरै चेतना पनि भर्‍यो। भन्छिन्, “सहयोग जुटाएर १२ हजार ८०० लाई त्यस्ता घरपालुवा जनावरका पाठापाठी बाँडें।” त्यही काम कालान्तरमा कमलरी प्रथा उन्मुलनको बीउ बनेको उनको भनाइ छ। कमलरीमुक्त आन्दोलनमा उनीहरूसँगै मुठ्ठी उचाल्दै सडकमा निस्किइन्।

एउटा अर्को मोड
सन् १९८६ मा उनी सिन्धुपाल्चोकको हेलम्बू ट्रेकिङमा गएकी थिइन्। चिप्लिएर उनको खुट्टाको गोलीगाँठोको हड्डी भाँचियो। गाउँलेले उनलाई डोकोमा राखेर पिठ्युँमा बोकी मोटर भएको ठाउँसम्म ल्याए। भोलिपल्ट उनी डा. अशोक बाँस्कोटाको क्लिनिक पुगिन्।

उपचारपछि केही समय विश्राम गरेर अमेरिका फर्किइन्। टेक्न सजिलो होस् भनेर डा. बाँस्कोटाले लगाइदिएको खोलजस्तो बस्तु अर्को वर्ष अमेरिकाबाट फर्किंदा ल्याएर डा. बाँस्कोटालाई दिइन्। आफूजस्तै अर्कोलाई काम लाग्ला भनेर उनले त्यो बस्तु फर्काएकी थिइन्। भन्छिन्, “यहाँ स्वास्थ्य क्षेत्रमा लाग्न यस्तै कारणले मलाई प्रेरित गरेको हो।”

गाउँ घुम्दा उनले कुपोषणग्रस्त आमा र नानीहरू देखेपछि पोषणको क्षेत्रमा काम गर्ने योजना बुनिन्। उनको प्रयासमा देशभरि १७ वटा पोषण केन्द्र स्थापना भएका छन्। परोपकारी कामलाई संस्थागत रूपमा अगाडि बढाउन उनले सन् १९९० मा नेप्लिज युथ फाउण्डेसन स्थापना गरिन्, आफैं संस्थापक बनेर।

अनाथ छात्रछात्राहरूसँग रमाउँदै ।

अनाथ बालबालिकाको शिक्षामा पनि उनले हात बढाएकी छन्। ३० वर्षअघि परोपकार अनाथ आश्रमका ४ विद्यार्थीलाई पहिलोपटक सन् १९८५ मा जनही ३०० डलरका दरले सहयोग गरेको सम्झिने उनले हाल ललितपुरको चुनिखेलमा ‘ओल्गापुरी’ बनाएकी छन्, जहाँ हाल ८० बालबालिका बसेर पढिरहेका छन्। बितेका ३४ वर्षका हरेकजसो दशैंमा उनी आश्रमका नानीहरूलाई टीका लगाइदिन अमेरिकाबाट नेपाल आइरहेकी छन्।

त्यहाँ प्रतिस्पर्धा, यहाँ साझेदारी
ओल्गाको भनाइमा अमेरिका प्रतिस्पर्धाको संसार हो। त्यहाँ प्रतिस्पर्धामा दौडिन सक्नु नै जीवन हो। तर, नेपाली जनजीवनको नाडीको धड्कन बुझेकी वयोवृद्धाको अनुभवमा नेपालका गाउँघरमा एकअर्काबीच साझेदारीमा जीवन चलिरहेको छ।

यहाँ चल्ने पैंचो, पर्मको चलन अन्यत्र समाप्त भएको उनको भनाइ छ। गाउँमा घुम्न जाँदा मानिसहरू हालखबर, सञ्चो-बिसञ्चो, खाए-नखाएको सोध्छन्। मेरोमा एकछाक खान आइदिए हुन्थ्यो भन्छन्। यसलाई उनी ज्युँदो मानवता भन्छिन्। यस्तो आतिथ्यबाट मोहित ओल्गा भन्छिन्, “यी तमाम कारणले म नेपालमा रत्तिएँ।”

प्रतिकृया दिनुहोस