फाल्गुनन्द गोल्डकप- आर्मी सेमीफाइनलमा
आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ट्राइब्रेकरमा १-३ गोल अन्तरले हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ।
२४ पुसमा भएको खेलको निर्धारित समयमा दुवै टिमले २-२ गोलको बराबरीमा खेलेपछि ट्राइब्रेकरमा निर्णय लिइएको थियो। ट्राइब्रेकरमा आर्मीका तर्फबाट निरन्तर राजेश पौडेल, एरिक बिष्ट र विश्वास चौधरीले गोल गरे भने आयोजकका तर्फबाट प्रवीण जवेगूले मात्रै गोल गरे।
आयोजक टिमका शरण बस्नेत र ओमबिक्रम घलेको प्रहार भने आर्मीका गोल रक्षकले रक्षा गरेपछि आयोजक क्वार्टर फाइनलबाटै बाहिरिन पुगेको हो। अघिल्लो चरणमा भने आर्मीका तर्फबाट राजीव गुरुङ एक्लैले २ तथा आयोजकका तर्फबाट प्रवीण जवेगू र विदेशी खेलाडी स्टेफनले गोल गर्दै बराबरी खेलेका थिए।
२४ पुसको खेलमा आर्मीका विश्वास चौधरीलाई म्यान अफ दी म्याच घोषणा गर्दै नगद रु. १० हजारले पुरस्कृत गरियो।
लक्ष्मी गौतम, पाँचथर