निजगढ विमानस्थलको विकल्प खोजीमा दबाब दिन हस्ताक्षर अभियान
निजगढमा निर्माण गरिने अन्तर्राष्ट्रिय विमानस्थलले वातावरणमा पर्ने असरका बारेमा सरकार गम्भीर नभएको बताउँदै वातावरण तथा वन क्षेत्रका सरोकारवालाहरूले हस्ताक्षर अभियान थालेका छन्।
हालसम्म करीब २ हजार जनाले हस्ताक्षर गरिसकेका छन्। अभियानमा सहभागी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकीका अनुसार अर्को साता संकलित हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र राजनीतिक दलका प्रमुखहरूलाई बुझाउने कार्यक्रम छ।
निजगढ विमानस्थलको विस्तृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) मा विमानस्थल निर्माणले सामाजिक, आर्थिक तथा वातावरणीय क्षेत्रमा पार्ने प्रभावका बारेमा राम्रोसँग विश्लेशण नगरिएको र हचुवाका भरमा ईआईए पारित गरिएकाले आर्थिक, सामाजिक र वातावरणीय सम्भाव्यताको अध्ययन हुनुपर्ने आफूहरूको माग रहेको बुढाथोकीले बताए।
‘सेभ दी निजगढ फरेस्ट’ नाम दिएर सञ्चालन गरिएको हस्ताक्षर अभियानमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलगायतले हस्ताक्षर गरेका छन्।