थप समाचारमंगलबार, २४ पौष , २०७५

बीपी कोइरालालाई हानेको गोलीले अपांग बनेका तारानाथको निधन

युवराज श्रेष्ठ

२०३६ सालमा स्याङ्जाको राङखोलामा बीपी कोइरालालाई लक्षित गोली लागेर घाइते भएका लमजुङ कांग्रेसका संस्थापक सभापति तारानाथ कोइरालाको निधन भएको छ।

स्वर्गीय तारानाथ कोइराला

पञ्चायतको जगजगीविरुद्ध २०३६ असोज पहिलो साता स्याङ्जाको राङखोलामा नेपाली कांग्रेसले आमसभा आयोजना गर्‍यो। सभामा बीपी कोइराला नै सहभागी हुने जानकारी आएपछि लमजुङ कांग्रेसका संस्थापक सभापति तारानाथ कोइराला पनि पुगे।

त्यतिबेला अहिलेजस्तो विरोध सभा गर्न सकिने अवस्था थिएन। पञ्चायती व्यवस्थाका हिमायतीहरू र तत्कालीन राज्य संयन्त्रले आमसभा भाँड्न र नागरिकहरूलाई सहभागी हुन नदिन धेरै प्रपञ्च रचे।

सभास्थलमा जाने बाटोमा भीरबाट ढुंगा गुडाउनेदेखि कुटपिट र झडपका घटनाहरू भए। आमसभा जसरी पनि सफल पार्न भन्दै सबै कष्ट छिचोलेर कांग्रेस नेता, कार्यकर्तादेखि सर्वसाधारण उपस्थित भए। आमसभा सफल भयो।

तत्कालीन राजा वीरेन्द्रले बहुदल वा पञ्चायती व्यवस्था भन्ने निर्णय लिन जनमत संग्रह घोषणा गरेका थिए। बहुदलको प्रचार भर्खर शुरु भएको थियो। कांग्रेस लमजुङका पूर्वसभापति कृष्णप्रसाद कोइरालाका अनुसार त्यो आमसभा पनि बहुदलीय व्यवस्थाको प्रचार गर्न आयोजना भएको थियो।

सभा सकिएपछि पञ्चायती व्यवस्थाका पक्षधर र प्रहरीसँग झडपको अवस्था आयो। बीपी कोइराला सभाबाट फर्कंदै गर्दा गोली चल्न थाल्यो। बीपी कोइरालालाई नै ताकेर गोली चलाउन लागेको देखेपछि तारानाथ उनका अगाडि गएर उभिए। उनको खुट्टामा गोली लाग्यो।

त्यसयता उनी अपांग जीवन बिताइरहेका थिए। २०३३ देखि २०३६ सालसम्म कांग्रेस लमजुङका संस्थापक सभापति रहेका तारानाथलाई बीपी कोइरालाले नै पार्टीको क्रियाशील सदस्यता दिएका थिए।

लमजुङको कोइरालाफाँटमा जन्मिएका तारानाथको परिवार त्यहाँबाट बसाईं सरेर हालको मध्यनेपाल नगरपालिका दुईपिप्लेमा आएको थियो। कांग्रेसले तारानाथलाई ‘प्रजातन्त्र सेनानी’को सम्मान दिएको छ।

पछिल्लो समय पार्टीभित्र बीपीको विचार मरेको तथा पार्टीमा पैसा र चाकडी गर्नेको हालीमुहाली भएको भन्दै उनी चिन्ता व्यक्त गरिरहन्थे। गोली लागेर घाइते भएपछि सक्रिय राजनीति छाडेर घरकै सेरोफेरोमा बिताएका उनी बीपीको विचार र सिद्धान्त अंगीकार नगरे पार्टी चल्न नसक्ने बताउने गर्थे।

आन्द्रासम्बन्धी समस्याका कारण पछिल्लो समय मणिपाल शिक्षण अस्पतालमा भर्ना भएर उपचाररत थिए, तारानाथ। उपचारकै क्रममा बेहोस भएका उनी २४ पुसमा कहिल्यै नफर्कने गरी चीरनिद्रामा पुगे।

प्रतिकृया दिनुहोस