अर्थ/बजारमंगलबार, २४ पौष , २०७५

सन् २०१८ मा करीब १२ लाख पर्यटकले घुमे नेपाल

हिमालखबर

नेपाल घुम्न आउने पर्यटकको संख्या गत वर्षको तुलनामा २४.७७ प्रतिशतले वृद्धि भएको छ। सन् २०१८ को जनवरीदेखि डिसेम्बरसम्म ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

फाइल तस्वीर

सन् २०१७ मा नेपाल घुम्न आएका पर्यटकको संख्या ९ लाख ४० हजार थियो। यस वर्ष ९ लाख ६९ हजार २८७ पर्यटक हवाई र २ लाख ३ हजार ७८५ जना स्थलमार्गबाट नेपाल भित्रिएका थिए। भारतीय पर्यटकको संख्या २५.१ प्रतिशतले वृद्धि हुँदा चिनियाँ नागरिक ४६.८ प्रतिशतले बढेका छन्। गत वर्ष २ लाख ४३८ भारतीय र १ लाख ५३ हजार ६०२ चिनियाँ पर्यटक नेपाल आएका थिए।

सन् २०१८ मा श्रीलंकाली पर्यटकको वृद्धिदर ५५.७ प्रतिशत पुग्दा समग्र सार्क मुलुकहरूबाट नेपाल आउने विदेशीको संख्या २६.६ प्रतिशतले बढेको छ। गत वर्ष भारतसहित सार्क मुलुकबाट नेपाल घुम्न आउने पर्यटकको संख्या ३ लाख १ हजार ९६३ थियो।

नेपालमा यस वर्ष युरोपेली देशबाट आउने पर्यटकको संख्या २३.३ प्रतिशतले वृद्धि भई २ लाख ४३ हजार २८२ पुगेको छ। यस्तै, अमेरिकी पर्यटक १६ प्रतिशतले वृद्धि भई ९१ हजार पुग्दा अष्ट्रेलियाली पर्यटक १५.१ प्रतिशतले बढेर ३४ हजार ४०८ पुगेका छन्।

पर्यटकको संख्यामा भएको वृद्धिले नेपाल भ्रमण वर्ष २०२० मा सरकारले राखेको २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सहयोग पुग्ने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन्।

प्रतिकृया दिनुहोस