खेलकुदमंगलबार, २४ पौष , २०७५

लिभरपुल एफए कपबाट बाहिरियो

हिमालखबर

इङ्लिस प्रिमियर लिगको जारी सिजनमा शीर्षस्थानमा रहेको लिभरपुल इङल्याण्डकै अर्को प्रतिष्ठित प्रतियोगिता एफए कपको तेस्रो चरणबाटै बाहिरिएको छ।

एफए कपको चौथो चरणमा पुग्ने ३२ टिमभित्र पर्न असफल लिभरपुलको बाटोमा प्रिमियर लिग क्लब वल्भस बाधक बन्यो। मंगलवार बिहान सम्पन्न खेलमा वल्भसले लिभरपुललाई २ -१ गोलले पराजित गर्‍यो।

प्रिमियर लिगका २१ खेलमा एक मात्र हार व्यहोरेको र शीर्षस्थानमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीभन्दा ४ अंकले अगाडि रहेको लिभरपुल एक महिनाकै बीचमा दोस्रो प्रतियोगिताबाट बाहिरिएको हो। यसअघि लिभरपुल लिग कप (काराबाओ कप) बाट बाहिरिइसकेको छ।

तेस्रो चरणको खेलमा राउल जिमिनेजको गोलमा वल्भसले ३८ औं मिनटमा अग्रता लिएको थियो। पहिलो हाफमा पछि परेको लिभरपुलले ५१ औं मिनटमा डिभोट ओरिगीको गोलबाट खेल बराबरीमा ल्याएको थियो। वल्भसका तर्फबाट ५५ औं मिनटमा रुबेन नेभेसले गरेको गोल नै निर्णायक बन्यो।

दोस्रो रोजाइको टिम उतारेका योर्गन क्लोपले दोस्रो हाफमा मोहम्मद सलाह, रोबर्टो फिर्मिन्होलाई मैदान प्रवेश गराए पनि लिभरपुल खेलमा फर्कन सकेन।

प्रतिकृया दिनुहोस