विश्व जलवायु कोषबाट नेपाललाई ३१ करोड सहयोग
नेपालले राष्ट्रिय अनुकुलन योजना निर्माणका लागि विश्व जलवायुकोष (जिसिएफ) बाट २ दशमलव ९ मिलियन डलर (करिब रु ३१ करोड) प्राप्त गरेको छ ।
मोरक्कोको माराकेशमा जारी जलवायु परिवर्तनसम्वन्धी राष्ट्रसंघीय २२ औं सम्मेलन (कोप २२) को सातौं दिनमा सोमवार यो घोषणा गरिएको हो ।
कोरियामा प्रधान कार्यालय रहेको जिसिएफबाट अनुकुलन योजना निर्माणका लागि नेपाललाई उक्त रकम दिने निर्णय विश्व जलवायु कोषको सोमवार सम्पन्न वैठकले गरेको वातावरण मन्त्रालयका सह–सचिव एवम् जलवायु परिवर्तन महाशाखाका प्रमुख रामप्रसाद लम्सालले जानकारी दिए ।
“यो योजना बनाउनका लागि हो, कार्यक्रम कार्वान्यन गर्न होइन,” सह सचिव लम्सालले भने, “यो रकम नै पर्याप्त होइन, हामी थप सहयोग कसरी लिने भन्ने बारेमा छलफलमा छौ ।”
उनका अनुसार नेपालपछि यस्तै किसिमको सहयोग प्राप्त गर्ने दोस्रो मुलुक लाइवेरिया हो ।
कोप–१६ ले राष्ट्रिय अनुकुलन योजना निर्माणका लागि जलवायु परिवर्तनका समस्यासँग जुधिरहेका अतिकम विकसित मुलुकहरुकालागि हरेक वर्ष १ विलियन अमेरिकी डलर सहयोग दिने निर्णय गरेको थियो ।
यूनएफसीसीको सवैभन्दा ठूलो सहयोग उपलब्ध गराउने निकाय जिसिएफ हो । गत वर्ष पेरिसमा सम्मपन्न २१ औ सम्मेलनमा भएको सम्झौताले पनि उक्त कोषलाई सहयोग प्रदान गर्ने म्याण्डेट दिएको थियो ।
अहिले घोषणा गरिएको उक्त रकम पहिले नै दिनुपर्ने भएपनि विभिन्न बहानामा ढिलाइ गरिएको लम्सालले बताए ।
जिसिएफले अनुदान र ऋण सहयोग प्रदान गर्छ । तर, नेपालले अनुकुलन कार्यक्रमका लागि ऋण सहयोग भने नलिने लम्सालले बताए ।
यद्यपी कार्वन उत्सर्जन न्यूनिकरण गर्न सहयोग पुग्ने नविकरणीय उर्जा सम्वन्धी परियोजाना सञ्चालन गर्न निजी क्षेत्र इच्छुक भए जिसिएफले दिने सस्तो व्याजदरको पैसा उनीहरु मार्फत परिचालन गर्न सकिने उनको भनाई छ ।
मुकेश पोखरेल, माराकेश