रिपोर्टमंगलवार, पौष २४, २०७५

स्वर्गीय कीर्तिनिधि विष्‍टले छोरा विनोदलाई भन्‍ने गर्थे- ‘प्रधानमन्त्री बाबुले केही गर्देला भन्‍ने नठान्‍नू’

रामेश्वर बोहरा

२०२५ सालमा बुवा प्रधानमन्त्री हुँदा मैले भर्खर आईएस्सी उत्तीर्ण गरेको थिएँ। तर, एसएलसी र आईएस्सी दुवैमा थोरै नम्बर नपुग्दा फर्स्ट डिभिजन आएन। राम्रो नम्बर ल्याएका साथीहरू कोलम्बो प्लानअन्तर्गत धमाधम पढ्न गए। बुबाले कतै भनिदिनुहोला र म पनि कोलम्बो प्लानमा जाउँला भन्‍ने आशा थियो तर बुवाले वास्तै गर्नुभएन।

विनोद विष्ट (७०)
पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टपुत्र

एकदिन भन्‍नुभो- ‘राम्रो नम्बर ल्याएको भए आफैं गइहाल्थिस्, कोलम्बो प्लानमै नभए पनि म तँलाई पठाउँला।’ त्यसपछि म बम्बैको जेजे कलेज अफ आर्किटेक्चरमा भर्ना भएँ। बुवाले भन्‍नुभो- “कोलम्बो प्लान जानेले महीनाको भारु २०० पाउँदारहेछन्, तैंले पनि त्यति नै पाउँछस्।’

कोलम्बो प्लान जानेहरूले लाइब्रेरीलगायत सुविधाबाट केही रकम जोगाउँथे, जसबाट उनीहरूलाई खर्च चलाउन सजिलो हुन्थ्यो। मलाई भने खर्च पुर्‍याउन साह्रै गाह्रो भो। साथीहरू यो प्रधानमन्त्रीको छोरो हो भन्थे होला, मेरो खर्च गर्ने क्षमता भने उनीहरूको जस्तो पनि थिएन। शुरुशुरुमा रिस पनि उठ्यो। तर, विस्तारै म त्यसमा बानी परें।

बुवाले चाहिं यसमा अभ्यस्त भयो भने भोलि अप्ठेरो परिस्थितिमा पनि टिक्नसक्ला भन्‍ने ठान्‍नुभएको थियो होला। बुवाले सिकाएको यही व्यवहार बुझेर मैले आफ्ना छोराछोरीलाई पनि अनावश्यक फुर्माइस गर्न दिइनँ।

आर्किटेक्चर पढे पनि फर्केर आएपछि मैले त्यसमा भविष्य नदेखी जागिर खाने इच्छा गरें। भुवनमान सिंह उद्योगमन्त्री हुनुहन्थ्यो। बुवाले एनआईडीसीमा गएर ‘फलानो हाकिमलाई भेट्नू’ भन्‍नुभयो। प्रधानमन्त्रीले पठाएको भन्दै दंग परेर गएँ तर मलाई ६ महीना ज्यालादारीको काममा लगाइयो।

घरमा प्रधानमन्त्री चढ्ने एउटा सेतो र अर्को रातो गाडी थियो। कोही बिरामी हुँदा वा त्यस्तै अप्ठेरो पर्दा मात्र त्यो गाडी प्रयोग गर्न पाउने बुवाको कडा नियम थियो। हामीले गाडी प्रयोग गर्ने कुरै थिएन। बुवा सधैंजसो हामीलाई थ्रेट गर्नुहुन्थ्यो- ‘मेरो बाबु प्रधानमन्त्री छ, यसो होला उसो होला भन्ने नठान्‍नू।’

मैले केही समयअघि मात्र बनारस हिन्दू विश्‍वविद्यालयबाट पीएचडी गरें। अहिले नेपाल काउन्सिल अफ वर्ल्ड अफेयर्समा पनि आबद्ध छु। केही वर्ष बोआओ फोरम, चीनमा काम गरें। कलेज पनि पढाएँ। म, दिदी, भाइ र दुई बहिनीलाई बुवाले राजकाजबाट टाढै राख्नुभो।

अवसरमा पनि नजिक ल्याउनु भएन। सन् १९८९ मा दुवै मिर्गौला फेल भएपछि राजा वीरेन्द्रले मलाई उपचार पनि हुने गरी न्यूयोर्कस्थित मिसनमा फर्स्ट सेक्रेटरी बनाएर पठाउनुभो। त्यहीबेला मैले मिर्गौला प्रत्यारोपण गरें। पछि प्रकाशचन्द्र लोहनी परराष्‍ट्रमन्त्री हुँदा डेपुटी पर्मानेन्ट रिप्रेजेन्टेटिभ बनाएर पठाउनुभो। त्यसबेला न हाम्रो कुनै प्रभाव हुन्थ्यो, न जीवन नै फुर्माइसको थियो। अहिलेका नेता र छोराछोरी हेर्दा सबै बिग्रिने भएजस्तो लाग्छ।

(कुराकानीमा आधारित)

सम्बन्धित शीर्षकहरू
शीर्ष नेताहरूको सन्तान मोह

स्वर्गीय मनमोहन अधिकारी पुत्र प्रकाशचन्द्र भन्छन्- “बुवालाई अप्ठेरो पार्ने काम गर्नै हुन्‍न भन्‍ने लाग्थ्यो”

 

 

प्रतिकृया दिनुहोस