समाचारसोमबार, २३ पौष , २०७५

गुण्डा नाइके दीपक मनाङ्गे भन्छन्- अब कहिल्यै चुनाव लड्दिनँ

हिमालखबर

मनाङबाट गण्डकी प्रदेशसभामा निर्वाचित गुण्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले अब आफू चुनाव नलड्ने निष्कर्ष पत्रकारहरूलाई सुनाएका छन्।

हिउँदे अधिवेशन शुरु भएकै दिन २३ पुसमा गण्डकी प्रदेशसभामा आएका मनाङ्गेले पत्रकारहरूसँग भने, “राजिनामा दिन्छु भन्दा पर्दैन भन्‍ने अनि सपथ दिन ढिला गर्न खोज्‍ने?”

मनाङ्गेको क्षेत्रमा पुनः निर्वाचन गराउन आवाज उठेको प्रसंगमा उनले भने, “निर्वाचन गराउँछन् भने पनि छिटो गराउन्।” आफ्नो क्षेत्रमा पुनः निर्वाचन गराउँदा देशभर त्यसै गराउनुपर्ने उनको तर्क थियो। त्यसका लागि आफू अन्तर्राष्‍ट्रिय अदालत जाने दाबी पनि गरे।

सपथ ग्रहण गर्न पाउनुपर्ने आफ्नो अधिकार भएको उनको भनाइ थियो। तर, सपथ लिन पाऊँ भनेर आफू अदालत नजाने उनले प्रष्ट्याए। आफ्नो सपथ नहुने भए राजिनामा दिन तयार रहेकोसमेत उनले बताए।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँग अलग्गै भेट्ने प्रयास गरे, मनाङ्गेले। तर, प्रतिनिधिमार्फत समय मिलाउने उनको प्रयास अस्वीकार गरिदिए, मुख्यमन्त्री गुरुङले। तैपनि, मनाङ्गे मुख्यमन्त्रीकै वरिपरि घुमिरहे। प्रदेशसभाको क्यान्टिनमा पुगेर मुख्यमन्त्रीसँग भेटिछाडे। तर, उनीहरू बीच सपथका विषयमा कुरा नभएको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपालीले बताए।

मनाङ्गेले सपथ पाऊँ भन्‍ने व्यहोराको पत्र प्रदेशसभा सभामुखको सचिवालयमा दर्ता गराएका छन्। सोही आधारमा सभामुख नेत्रनाथ अधिकारीले २२ पुसमा कार्य परामर्श समितिको बैठक डाकेका थिए। बैठकमा समितिका सभापति मायानाथ अधिकारीलगायतले उनलाई तत्काल शपथ गराउन नहुने सुझाव दिएका थिए। मनाङ्गेको कानूनी पाटो नसुल्झिएसम्म सपथ नगराउने निर्णय भएको सभामुख अधिकारीले जानकारी दिए।

युवराज श्रेष्‍ठ, पोखरा

प्रतिकृया दिनुहोस