कला/साहित्यसोमवार, पौष २३, २०७५

पर्यटन प्रबर्द्धनका लागि ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज आयोजना गरिँदै

हिमालखबर

वी विल राइज फाउन्डेसन (हामी उठ्ने छौं) ले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने गरी ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज गर्ने भएको छ।

पर्यटकीय विकासको प्रचुर सम्भावना भएर पनि अगाडि आउन नसकेका स्थानहरूलाई प्रबर्द्धन गर्ने उद्देश्यले फाउन्डेसनले नेपाल पर्यटन बोर्डको सहकार्यमा ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जको घोषणा गरेको छ।

नेपालमा रहेका चर्चित पर्यटकीय स्थलका साथै ओझेलमा परेका स्थान, संस्कृति र अन्य पक्षको बारेमा भिडियो बनाएर पठाउन फाउन्डेसनले आग्रह गरेको छ। फाउन्डेसनका निर्देशक निर्मल श्रेष्ठका अनुसार भिडियोको समय अधिकतम ५ मिनट राखिएको छ।

उत्कृष्ट भिडियोका लागि एक लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रोलाई २५ हजार पुरस्कार राखिएको छ। पब्लिक च्वाइस अवार्डमा उत्कृष्ट हुने एक भिडियोले एक लाख पुरस्कार पाउने छ भने उत्कृष्ट सम्पादन र उत्कृष्ट लेखनले समेत रु २५-२५ हजार पुरस्कार पाउनेछन्।

भिडियो च्यालेन्जको जुरीमा डकुमेन्ट्री निर्देशक छिरिङ रितार शेर्पा, लेखक तथा डकुमेन्ट्री मेकर मोहन मैनाली, नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशी, सिनियर साउण्ड एक्स्पर्ट प्रदीप उपाध्याय र नेपाली चलचित्रकी निर्देशक सम्झना उप्रेती रौनियार छन्।

प्रतिकृया दिनुहोस