कला/साहित्यसोमवार, पौष २३, २०७५

यस वर्ष अक्षय कुमारका यी ५ फिल्म हुँदैछन् रिलिज

हिमालखबर

तीन वटा हिट फिल्म आएका कारण बलिउड स्टार अक्षय कुमारका लागि गएको वर्ष २०१८ उल्लेख्य रह्यो। उनी अभिनीत 'प्याडम्यान', 'गोल्ड' र '२.०' ले बक्स-अफिसमा राम्रो व्यापार गरे।

जबकि सलमान खान, आमिर खान र शाहरुख खानजस्ता सुपरस्टारका लागि गत वर्ष फिल्म प्रदर्शनका हिसाबले बिर्सन लायक बन्यो।

अक्षय कुमारको हरेक वर्ष औसत तीन फिल्म रिलिज हुने गरेका छन्। सन् २०१२ मा भने उनका ५ फिल्म आएका थिए। अक्षयका प्रशंसकहरूका लागि खुशीको खबर के छ भने  २०१९ मा पनि उनका ५ फिल्म रिलिज हुनेछन्। ती फिल्मबारे संक्षिप्त चर्चा गरौं:

केसरी
यो फिल्‍म सन् १८९७ मा ब्रिटिस सेनाको शिख रेजिमेन्ट र अफगान लडाकुहरूबीच भएको लडाइँ (ब्याटल अफ सारागढी) को विषयमा केन्द्रित छ। उक्त युद्धमा २१ शिख जवानले १० हजार अफगान लडाकुलाई हराएको बताइन्छ। 'केसरी' मा अक्षय कुमार शिख फौजका हवल्दार ईश्वर सिंहको भूमिकामा छन्। फिल्ममा परिणिती चोपडा मुख्य अभिनेत्री छन्।

मिशन मंगल
'मिशन मंगल' अन्तरिक्षको विषयमा भारतको पहिलो फिल्म हो। फिल्ममा अक्षय कुमारको साथमा विद्या बालन, सोनाक्षी सिन्‍हा, शरमन जोशी, नित्या मेनन र तापसी पन्‍नू प्रमुख भूमिकामा छन्। यो फिल्‍म मार्स आर्बिटर मिशन  (मंगलयान) मा आधारित छ।

गुड न्युज
अक्षय कुमारको यस फिल्ममा करिना कपुर, कियारा आडवाणी र दिलजित दोसाझ पनि देखिनेछन्। फिल्‍ममा बच्चा जन्माउने तयारीमा लागेका एक दम्पतीको कथा प्रस्तुत गरिएको छ। फिल्म आगामी १९ जुलाईमा रिलिज हुनेछ।

हाउसफुल ४
कमेडी जनराको यो फिल्‍ममा अक्षय कुमारका साथै रितेश देशमुख, बबी देओल, चंकी पाण्डे, कृति सेनन, कृति खरबंदा र पूजा हेगडे पनि देखिनेछन्। फिल्म २०१९ को दिवाली (२५ अक्टोबर) मा रिलिज हुनेछ। 'हाउसफुल' सिरिजको पहिलो भाग सन् २०१० मा बनेको थियो।

सूर्यवंशी
'सिम्बा' फिल्‍मको अन्त्यमा अक्षय कुमार अतिथि भूमिकामा देखिएका थिए। 'सूर्यवंशी' यही फिल्मको भाग हुनेछ, जुन आउँदो डिसेम्बरमा रिलिज हुनेछ।

बलिउडका व्यापार विश्लेषकहरूले अक्षयका यी ५ फिल्ममध्ये 'केसरी', 'हाउसफुल ४' र 'सूर्यवंशी' बाट बढी कमाइको अपेक्षा गरेका छन्। किनकि, यी तीन वटै मसाला फिल्म हुन्। एजेन्सी

प्रतिकृया दिनुहोस