संसदीय समितिको प्रतिवेदन पारित, मन्त्रीहरूलाई कानूनअनुसार कारबाही गर्न सिफारिस
लेखा समितिले वाइडबडी विमान खरीदका विषयमा संसदीय छानबिन उपसमितिको प्रतिवेदन संशोधनसहित पारित गरेको छ।
समितिले १८ पुसमा बुझाएको प्रतिवेदनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बद्नियतपूर्वक काम गरेकाले हदैसम्मको कारबाही सिफारिस गरिएकोमा संशोधित प्रतिवेदनमा मन्त्री अधिकारी, पूर्वमन्त्रीहरू जितेन्द्र देव र जीवनबहादुर शाहीलाई कानूनअनुसार कारबाही सिफारिस गरिएको छ।
१८ पुसको प्रतिवेदनमा विगतमा पर्यटन मन्त्रालयका सचिव रहेका गृह सचिव प्रेम राईलाई निलम्बन गर्दै कारवाही सिफारिस गरिएको थियो। संशोधित प्रतिवेदनले खरिद प्रक्रियामा राईको संलग्नता नरहेको बताउँदै उनलाई कारबाहीको सूचीबाट हटाइएको छ।
परित प्रतिवेदनले पर्यटन सचिव कृष्ण देवकोटा र नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन गरी कारबाही सिफारिस गरिएको छ। समितिले अख्तियारलाई विमान खरीद प्रक्रिया अनुसन्धान गर्न पनि सिफारिस गरेको छ।