तरुण दलको अधिवेशन लम्बियो, सर्बसम्मत गराउने प्रयास
नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलको पोखरामा जारी महाधिवेशन लम्बिएको छ ।
महाधिवेशनको कार्यतालिका अनुसार आज, २९ कात्तिकमा नयाँ नेतृत्व चयन सँगै सकिनुपर्ने महाधिवेशन १ मंसीर सम्मका लागि लम्बिएको हो ।
कांग्रेस निर्देशन समितिका संयोजक बालकृष्ण खाँडका अनुसार, १ मंसीरमा नयाँ नेतृत्वको परिणाम आउने गरी लम्बाईएको हो ।
उनले आज रातिसम्म विधान संशोधनको टुङ्गो लगाएर भोलि निर्वाचन प्रक्रिया थालिने उनले बताए ।
“सर्वसम्मत नेतृत्व चयन गर्ने हामी सबैको चाहना छ,” उनले भने, “पार्टी एकतालाई मध्यनजर गरेर सन्देश दिने गरी सर्वसम्मतका प्रयास गरेका हौँ ।”
उनले एउटा पदमा एक जना मात्र उम्मेदवार हुने गरी सहमतिको प्रयास भईरहेको बताए । तरुण दलको विधानलाई प्रादेशिक संरचनामा लैजाने गरी संशोधन गर्ने तयारी गरिएको छ ।
सर्वसम्मतीका लागि अध्यक्ष बाहेक पदाधिकारीको संख्या बढाउन पनि सकिने खाँडले जानकारी दिए ।
दलका अध्यक्ष उदय शमशेर राणाले मतदाताको नामावली निर्वाचन समितिले प्राप्त गरिसकेको जानकारी दिए । उनका अनुसार मतदाता संख्या १ हजार १५८ जना छ ।
सहमतिका लागी पार्टी सभापती शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला विच दिनभर पटक पटक छलफल भएको थियो ।
तर, सिटौला पक्षले पत्रकार भेटघाट गरी अध्यक्षमा उत्तमकुमार चापागाईको उम्मेदवारी घोषणा गरेको थियो ।
यता, देउवाले आफ्नो पक्षका नेतालाई अध्यक्ष बनाएर पदाधिकारीमा पौडेल र सिटौला पक्षलाई समेट्ने प्रयास गरेको बुझिएको छ ।
युवराज श्रेष्ठ, पोखरा