अष्ट्रेलियामा पहिलो टेस्ट श्रृंखला जित्दै भारतले रच्यो इतिहास
भारतले चिरपरिचित प्रतिद्वन्द्वी अष्ट्रेलियाविरुद्ध उसकै भूमिमा पहिलो टेस्ट श्रृंखला जितेको छ।
अष्ट्रेलिया भ्रमण शुरु गरेको ७१ वर्षमा भारतले पहिलो टेस्ट श्रृंखला जितेको हो। यससँगै भारतीय कप्तान विराट कोहलीका निम्ति क्रिकेट इतिहासको अर्को सफलता उनको नाममा जोडिन पुगेको छ।
वर्षाले प्रभावित चौथो तथा अन्तिम सिड्नी टेस्ट बराबरीमा टुंगिएपछि भारतले समग्रमा २-१ ले श्रृंखला आफ्नो पक्षमा पार्यो।
सिड्नी टेस्ट शुरु हुनुअघि नै भारत श्रृंखलामा २-१ ले अगाडि थियो। भारतले एडिलेडको पहिलो टेस्ट जितेको थियो भने पर्थ टेस्टमा जित हात पार्दै अष्ट्रेलियाले श्रृंखला बराबरीमा ल्याएको थियो। तर, मेलबर्नमा शानदार जित हात पार्दै भारतले श्रृंखलामा अग्रता लिएको थियो।
श्रृंखला जोगाउन अष्ट्रेलियाले सिड्नी टेस्ट जित्नैपर्ने दबाब थियो। तर, भारतले पहिलो इनिङ्समा ६२२ रन जोडेर दोस्रो दिनमा इनिङ्स समाप्तिको घोषणा गरेसँगै अष्ट्रेलियाको सम्भावना कमजोर बनेको थियो।
वर्षाले प्रभावित चौथो दिनको खेलमा अष्ट्रेलिया ३०० रनमा अलआउट हुन पुग्यो। अष्ट्रेलियाले फ्लोअनमा पर्दै दोस्रो इनिङ्स शुरु गरे पनि पाँचौं दिनको खेल वर्षाले प्रभावित भएपछि सिड्नी टेस्ट बराबरीमा टुंगिएको हो।
भारतका चेतेश्वर पुजारा प्लेयर अफ दी सिरिज चुनिए। सिड्नी टेस्टको प्लेयर अफ दी म्याचको अवार्ड पनि पुजाराकै नाममा रह्यो। सिड्नी टेस्टको पहिलो इनिङ्समा १९३ रन बनाएका पुजाराले यो श्रृंखलामा ७४ को औसतमा ५२१ रन बनाएका थिए।