संसदीय उपसमितिको प्रतिवेदन नसच्याए अनसन बस्ने डा. केसीको चेतावनी (विज्ञप्तिको पूर्णपाठसहित)
मेडिकल शिक्षामा सुधारको माग गर्दै लामो समयदेखि आन्दोलनरत डा. गोविन्द केसीले संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिको प्रतिवेदन तत्काल नसच्याए अर्को अनसन शुरु गर्ने चेतावनी दिएका छन्।
“चिकित्सा शिक्षा विधेयक अघि बढाउने क्रममा संसदीय उपसमितिमा शीर्षस्थ नेताहरू र उपसमितिका सांसदहरूले चलखेल हामीसँग भएको सम्झौता अनुरूप जनतामुखी र विद्यार्थीमुखी बुँदा हटाएर माफियामुखी बुँदा हाल्दै विधेयक उपसमितिबाट पारित गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” डा. केसीले २३ पुसमा विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्। निर्वाचित सांसद र शीर्षस्थ नेताहरू भने नागरिकका लागि नभई माफियाको स्वार्थ पक्षपोषण गर्नेतर्फ गर्नेतर्फ उद्यत भएको उनको आरोप छ। “उनीहरूको यो उद्देश्य कदापि पूरा हुन दिने छैनौं,” विज्ञप्तिमा उल्लेख छ।
डा. केसीसँग भएको सहमति विपरित उपसमितिले आइतबार मात्र चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पारित गरेको थियो। प्रतिवेदनमा कांग्रेस सांसद गगन थापाले फरक मत राखेका थिए।
‘शिक्षा तथा स्वास्थ्य समितिकी सभापतिले सार्वजनिक रूपमै हामीसँग भएको सम्झौता अनुरुप नै विधेयक पारित हुन्छ भनेकाले हामीले सत्याग्रहका कार्यक्रम २५ पुससम्मका लागि सारेका थियौं,” डा. केसीको विज्ञप्तिमा उल्लेख छ, “त्यसैले हामीसँग भएको सम्झौता विपरित उपसमितिले पठाएको प्रतिवेदन अविलम्ब सच्याउन समितिलाई माग गर्छौं। अन्यथा हामीले दिएको समय सीमाभन्दा अगाडि नै सत्याग्रह शुरु गर्न बाध्य हुनेछौं।”
डा. केसीले विज्ञप्तिमा तीन बुँदे माग पनि अगाडि सारेका छन्। पहिलो नम्बर बुँदामा मेडिकल शिक्षासम्बन्धि माग उल्लेख छन्। दोस्रो बुँदामा निर्मला पन्तको बलात्कार-हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन माग गरेका छन्। “प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरू माथि तत्काल फौजदारी मुद्दा चलाइयोस्,” डा. केसीले भनेका छन्।
तेस्रो नम्बर बुँदामा सरकारको निर्णय उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई पदाधिकारीमाथि कारवाही गर्न माग गरेका छन्। आफ्ना माग पूरा नभए द्वन्द्वकालका जघन्य अपराधका दोषीहरू विरुद्धसमेत लड्न आफू बाध्य हुने चेतावनी डा. केसीले दिएका छन्।
विज्ञप्तिको पूर्णपाठ