थप समाचारआइतवार, पौष २२, २०७५

हुण्डी कारोबारी फरार, ८३ लाखसहित सहयोगी पक्राउ

हिमालखबर

अनधिकृत रूपमा वित्तीय कारोबार गरेको आरोपमा ५ जनालाई रु. ८३ लाख ६२ हजार नगदसहित जनकपुरबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

२२ पुस बिहान जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले जनकपुर-११ किशोरीनगरस्थित रामेश्‍वर साहको घरमा हुण्डी कारोबार गर्दै आएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। कारोबार सञ्‍चालक रामेश्‍वर साह भने फरार भएका छन्।

पक्राउ परेकामध्ये ४ जना भारतीय नागरिक हुन्। विहारको मधुवनी जिल्ला बासोपट्टीका सन्तोष महतो, सुरज ठाकुर, नरेश महतो र पप्पुकुमार दास पक्राउ परेका हुन्। यस्तै, जनकपुर उपमहानगरपालिका-१९ का विजय यादवलाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जनाए।

पक्राउ परेकाहरुबाट भारतीय रुपैयाँ ६ हजार ६ सय र विभिन्‍न बैंकका ३१ थान चेकसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरू विरुद्ध अनुसन्धानपछि बैंक तथा वित्तीय कारोबार ऐन, २०७३ बमोजिम मुद्दा चलाइने प्रहरी उपरीक्षक थपलियाले जानकारी दिए।

ईश्‍वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस