कला/साहित्यआइतबार, २२ पौष , २०७५

रणवीर सिंहको 'सिम्बा' को कमाइ दोस्रो साता पनि उचाइमा

हिमालखबर

रणवीर सिंह र सारा अली खान अभिनीत फिल्म 'सिम्बा' ले दर्शकलाई तानिरहेको छ। २८ डिसेम्बरमा रिलिज भएको फिल्मले प्रदर्शनको दोस्रो सातामा पनि राम्रो व्यापार गरिरहेको छ। ९ दिनमा फिल्मले भारतीय बक्स-अफिसमा भारु १७३ करोड १५ लाख कमाइसकेको छ।

बलिउडका व्यापार विश्लेषक तरण आदर्शका अनुसार नवौं दिन शनिबार फिल्मले १३ करोड ३२ लाख बटुलेको छ। फिल्मले पहिलो साता १५० करोड कमाएको थियो। दर्शकलाई प्रभावमा पारिरहँदा फिल्मको कमाइ दोस्रो साता भारु २ सय करोड सजिलै नाघ्ने देखिएको छ।

तरणका अनुसार दोस्रो साता 'सिम्बा' ले २०० देखि २५० करोड व्यापार गर्नसक्छ। भारतबाहेकका देशमा फिल्मले अहिलेसम्म भारु ५८ करोड ६२ लाख कमाएको छ।

रणवीर सिंहका लागि सन् २०१८ विशेष रह्यो। यसअघि आएको उनी अभिनीत फिल्म 'पद्‍मावत' अत्यधिक सफल मात्र भएन, फिल्ममा उनको 'अलाउद्दिन खिलजी' को भूमिकाले प्रशस्त प्रशंसा पायो। यही वर्ष उनले अभिनेत्री दीपिका पादुकोणसँग विवाह पनि गरे। सन् २०१९ मा रणवीरको नयाँ फिल्म 'गली ब्वाय' आउनेछ, जुन भ्यालेन्टाइन्स डेमा रिलिज हुनेछ। यो फिल्मको ट्रेलर ९ जनवरीमा सार्वजनिक हुँदैछ। एजेन्सी

प्रतिकृया दिनुहोस