मोराटाले गोलको खडेरी तोडेपछि चेल्सी एफए कपको चौथो चरणमा
अल्भारो मोराटाले करिब दुई महिनापछि गोलको खडेरी तोडेसँगै इङ्लिस प्रिमियर लिग क्लब चेल्सी इमिरेट्स एफए कपको चौथो चरण प्रवेश गरेको छ । चेल्सीले च्याम्पियनसिप क्लब नटिंघम फरेस्टमाथि पाएको २–० को जितमा दुवै गोल मोराटाले गरे ।
गत बर्ष रियल मड्रिडबाट चेल्सी आएका स्पेनका यी फरवार्ड पछिल्लो दुइ महिनायता सबैखाले प्रतियोगितामा गोलबिहीन थिए । पहिलो हाफमा पाएका दुइ सुन्दर अवसर गोलमा परिणत गर्न नसक्दा मोराटा दबाबमा देखिएका थिए ।
कप्तानको जिम्मेवारी सम्हालेका सेस फाब्रिगासले पेनाल्टीमा समेत गोल गर्न नसकेपछि चेल्सी दबाबमा आएको थियो । त्यहीकारण दोस्रो रोजाइको टिम उतारेका प्रशिक्षक माउरिजियो सार्रीले पहिलो हाफको अन्त्यतिर इडेन हजार्डलाई मैदानमा उतारेका थिए ।
दोस्रो हाफको शुरुवातमै मोराटाले सिक्स यार्ड बक्समा प्राप्त बललाई विना कुनै गल्ती जाली चुमाए । त्यसको १० मिनेटमा हेडर गोलमार्फत् मोराटाले नै चेल्सीलाई २–० को अग्रता दिलाए ।
मोराटाको दुवै गोलमा राइट विङबाट खेलिरहेका कालम हडसन अडोइले शानदार ‘क्रस बल’ मिलाइदिएका थिए । पहिलो हाफमा लेफ्ट विङबाट खेलेका अडोइलाई दोस्राे हाफमा दायाँ भागबाट आक्रमण बुन्ने जिम्मेवारी दिइएको थियो ।
चेल्सी एकेडेमीका उत्पादन अडोइ इङल्याण्डका प्रभावशाली उदयीमान खेलाडी मानिन्छन् । उनीमाथि युरोपका प्रतिष्ठित क्लबहरुले आँखा लगाएका छन् ।
कतिपयले चेल्सीको पहिलो टिमबाट पर्याप्त अवसर नपाएपछि असन्तुष्ट बनेका अडोई जर्मन च्याम्पियन बायर्न म्युनिखमा आबद्ध हुने निश्चित भइसकेको बताउँदै आएका छन् । बायर्नले अडोइका लागि ३ करोड स्टर्लिङ पाउन्ड तिर्न लागेको दाबी समेत गरिएको छ ।