बाङ्लादेशमा पनि सन्दीपको उत्कृष्ट शुरुआत, पहिलो खेलमै लिए २ विकेट
नेपाली क्रिकेटर सन्दीप लामिछानेले बाङ्लादेश प्रिमियर लिग (बीपीएल)मा उत्कृष्ट शुरुआत गरेका छन् ।
सिलहट सिक्सर्सबाट बिपिएलको पहिलो खेल खेल्ने क्रममा सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन मात्र दिएर २ विकेट लिए । सन्दीपले पाकिस्तानी क्रिकेटका भेट्रान अलराउण्डर शोयब मलिक र बाङलादेशको राष्ट्रिय टिमका विकेटकपिर अनामुल हकलाई हाउट गरे ।
सिक्सर्सका तर्फबाट सबभन्दा किफायती बलिङ गरेका सन्दीपको प्रदर्शन टिमलाई जिताउन भने पर्याप्त रहेन । सिक्सर्सले दिएको १२८ रनको लक्ष्य काँमिला भिक्टोरियन्सले ६ विकेटको क्षतिमा एक बल बाँकी छँदा पुरा गर्यो ।
शाहिद अफ्रिदीले २५ बलमा नटआउट ३९ रन बनाएपछि ‘लो स्कोर’ रक्षा गर्ने सिक्सर्सको प्रयास सफल भएन ।
सन्दीप अष्ट्रेलियाको बिग बास लिग खेल्दाखेल्दै बाङ्लादेश पुगेका थिए । बिग बास लिगमा उत्कृष्ट प्रदर्शन गर्ने क्रममा उनले मेलबर्न स्टार्सबाट खेलेका शुरुवाती चार खेलमा आठ विकेट लिएका थिए ।