“भन्सार दरमा पुनरावलोकन नगरी हुँदैन”
आन्तरिक उद्योगलाई बलियो र प्रतिस्पर्धी बनाउन भन्सार दरमा पुनरावलोकन गर्नुपर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्र घिमिरेले बताएका छन् ।
व्यापार र निजी क्षेत्रको विकास विषयमा आयोजित कार्यक्रममा घिमिरेले भने, “विलासी बस्तुको बढ्दो आयात नियन्त्रण गर्न विश्व व्यापार संगठनको मापदण्डभित्र रही भन्सार दर बढाउनुपर्छ । त्यसले चालु खाता घाटा नियन्त्रण गर्न र आन्तरिक उद्योगलाई बलियो बनाउन सहयोग गर्छ ।”
नेपालमा निर्यातको तुलनामा आयात उच्चदरले वृद्धि हुँदा चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म चालु खाता रु. ८८ अर्ब ६३ करोडले घाटामा गएको छ । त्यसले मुलुकमा वैदेशिक मुद्राको सञ्चितिमा कम हुँदै गएको देखाउँछ ।
व्यवसायीले ट्रेडिङ व्यवसाय विस्तारमा गर्व गरिरहँदासम्म व्यापार घाटा घटाउन नसकिने घिमिरेको भनाइ छ ।
कार्यक्रममा अर्थशास्त्री पोषराज पाण्डेले सेवा र बस्तु व्यापारलाई हेर्ने सरकारी नीति परिवर्तन नहुँदा सम्भावना भएर पनि सेवा व्यवसाय विस्तार हुन नसकेको बताए । व्यापार घाटा कम गर्न उद्योगमा लगानी बढ्नुपर्नेमा ट्रेडिङ क्षेत्रमा बढ्दो लगानी सरकारका चुनौती भएको उनको भनाइ थियो ।
बस्तु व्यापारमा नेपालको प्रतिस्पर्धात्मक क्षेत्र कमजोर रहेकाले औद्योगिक क्षेत्रमा उत्पादन लागत घटाउन सरकारले सहयोग गरे व्यापार घाटा केही कम गर्न सकिने उनको भनाइ छ ।