टिप्पणीआइतवार, पौष २२, २०७५

‘धर्मसत्ता’को दुरुपयोग

शेखर खरेल

धार्मिक व्यक्ति वा गुरुहरूको विलासी जीवनशैलीका कारण सदाचारी र दुराचारी छुट्याउनै मुश्किल बनेको छ। यस्तो शंकाको घेरामा पर्ने पछिल्लो पात्र हुन्, रामबहादुर बमजन।

हामीलाई सानैदेखि ‘काम, क्रोध, लोभ र मोह’ त्याग्न सिकाइयो। तर, मानिस आफ्ना यी जैविक स्वभावबाट केही पर रहन सके पनि विल्कुलै अलग रहन सक्दैन। कसैलाई धनको मोह, कोही वासनाद्वारा वशीभूत, कसैलाई कुनै वस्तु वा पदप्रतिको आसक्ति। सामान्य हदसम्म यी कुराको चाहना स्वाभाविक हो। तर, जब यी कुराप्रतिको आसक्ति सीमाहीन हुन्छ, तिनको प्राप्तिका लागि मानिस अनैतिक र आपराधिक बाटो समाउँछ।

सामान्यजनको सामान्य सोचभन्दा माथि उठेका मनीषीहरूलाई हामी आफ्ना पथप्रदर्शक वा गुरु मान्छौं। आफूभन्दा बढी विश्वास गुरुप्रति गर्छौं। तर, जब त्यो विश्वासमाथि कुठाराघात भएको पाउँछौं, हाम्रो आस्था तिल्मिलाउन बेर लाग्दैन। धर्मलाई शक्ति आर्जनको माध्यम बनाउने केही व्यक्तिका कारण अहिले कतिपय धार्मिक संस्था वा संरचना ‘स्प्रिचुअल सुपरमार्केट’ जस्ता बनेका छन्। धार्मिक व्यक्ति वा गुरुहरूले सादगी र मितव्ययितापूर्ण जीवनको साटो भोगविलास रोज्दा सदाचारी र दुराचारी छुट्याउनै मुश्किल बन्दै गएको छ।

सार्वजनिक सम्पत्ति हडप्नेदेखि वन र संरक्षण क्षेत्रको अतिक्रमण र राज्यकोषसम्मको दुरुपयोगका कारण धेरै धार्मिक गुरु विवादित बनेका छन्। अझ कतिपय धार्मिक गुरु त हत्या-हिंसा, बलात्कारदेखि हातहतियारको कारोबारसम्ममा संलग्न देखिएका छन्। भारतका आशाराम बापू, रामरहिमजस्तै हत्या र यौन दुराचारको विवादमा नेपालका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बमजन अहिले शंकाको घेरामा छन्।

उनीमाथि आफ्ना आश्रमका आनीहरूमाथि बलात्कार र एक अनुयायीको हत्याको आरोप छ। उनकै अपराध कर्मका कारण आश्रमबाट तीन आनी बेपत्ता भएका वा गरिएका आरोप पनि छ।

धर्मबाट शक्ति
प्रसिद्ध चिन्तक वर्नाड रसल शक्तिलाई मानिसको अन्तिम लक्ष्य मान्छन्। मानिसले अनेक प्रकारले शक्ति हत्याउने उपक्रम गरिरहने तर्क रसलको छ। ‘पावर’ (शक्ति) शीर्षकको आफ्नो ‘मास्टरपिस’ पुस्तकमा रसलले शक्तिलाई नै एउटा संरचनाको रूपमा व्याख्या गर्दै यसका आधारहरूबारे बृहत् चर्चा गरेका छन्, जसमध्ये धर्म मुख्य हो। राज्य होस् वा व्यक्ति, अनादिकालदेखि धर्म नै शक्तिको एक महत्वपूर्ण स्रोत रहँदै आएको छ।

रामबहादुर बमजनसँग भएको पूँजी चमत्कार हो। बाराको रतनपुरी जंगलको १० महीना लामो ‘तपस्या’ ले उनलाई अन्तर्राष्ट्रिय ख्याति दियो। प्रचार यतिसम्म गरियो, भविष्यका बुद्ध अर्थात् मैत्रेय उनै हुन्, मानिससहित समस्त चराचर जगतका मुक्तिदाता पनि उनै हुन्।

अहिले बमजनमाथि संगीन आरोपहरू लागेकाले तिनको सत्यतथ्य निरुपण जरूरी भएको छ। आरोपहरू प्रमाणित नहुँदासम्म उनी अभियुक्त मात्र हुन्। त्यसैले उनले बलात्कार र व्यक्ति (आफ्ना चेला) हत्या गरे-गरेनन् भन्ने कुराको निरुपण अपराध र विधिशास्त्रका विशेषज्ञ सम्मिलित अनुसन्धान टोलीले मात्र गर्न सक्छ।

कानूनी राज्यमा कसैले पनि ‘भगवान’ वा ‘बुद्ध’ हुँ भन्ने दाबीका आधारमा उन्मुक्ति पाउँदैन। यौन दुर्व्यवहारलाई लिएर ‘मीटू’ आन्दोलन विश्वव्यापी भएपछि धेरै शक्तिशाली र प्रतिष्ठित व्यक्तिहरू प्रश्नको घेरामा परेका छन्। सार्वजनिक प्रतिष्ठा धुलिसात भएपछि कतिपय प्रतिष्ठित व्यक्ति ‘लाइमलाइट’ बाट हराउन बाध्य भएका छन् भने कतिपयले क्षमायाचनासहित आफूलाई सुधार्ने प्रण गरेका छन्।

बमजनमाथिका आरोप यौन दुर्व्यवहार मात्र होइन, गम्भीर फौजदारी प्रकृतिका छन्। कसुर प्रमाणित भए उनी हदैसम्मका सजायका भागीदार हुन सक्छन्।

कसुर प्रमाणित नभएसम्मका लागि उनलाई शंकाको सुविधा दिन सकिए तापनि पंक्तिकारको मनमा बमजनलाई देख्नासाथै (प्रत्यक्ष होइन) एउटा आशंकाले डेरा जमाएको थियो। त्यो के भने, १० वर्ष निराहार तपस्या गरेको बताउने र आफैंलाई मैत्रेय बुद्ध दाबी गर्ने उनमा कुनै चुम्बकीय आकर्षण देखिँदैन।

हामीले प्रत्यक्ष वा श्रव्यदृश्यमा देखे सुनेका सन्तपुरुष, योगी र दार्शनिकझैं उनी आभामण्डित छैनन्। उनका प्रवचन र विचार आल्हादकारी पनि छैनन्। उनीप्रतिको आकर्षणको धरातल एउटै छ, चमत्कारको प्रोपोगण्डा।

एउटा भनाइ छ- एकै समय कुनै वस्तु तातो र चिसो दुवै हुन सक्दैन। यदि बमजनको आजको जीवन ढोंग हो भने उनको तपस्या चमत्कार नभएर जालसाजी हो। आफूलाई शक्तिशाली, भगवान वा भगवानका एजेन्ट प्रमाणित गर्न जालसाजी र जादू प्रयोग गरिएका धेरै उदाहरण छन्।

यस्ता अनैतिक र अवैध जुक्ति एक व्यक्तिबाट मात्र सम्भव छैन। बमजन हुन् वा रामरहिम वा आशाराम बापू; तिनका धार्मिक संरचना दुई घेराबाट निर्मित हुन्छन्। पहिलो घेरामा तथाकथित गुरुका विश्वासपात्र मात्र रहन्छन्, जो ती गुरुका सबै कर्तुतका हिस्सेदार हुन्छन्।

दोस्रो घेरामा अबोध अनुयायीहरू रहन्छन्, जो आफ्ना गुरु ईश्वर वा उनका दूत, मुक्तिदाता वा पथप्रदर्शक हुन् भन्ने अन्धविश्वास गर्छन्। त्यसैले बमजनमाथिको अनुसन्धानले हत्या र बलात्कार सँगसँगै तपस्याको असलियत उजागर गर्नुपर्छ।

प्रतिकृया दिनुहोस