थप समाचारशनिबार, २१ पौष , २०७५

चन्द्रमामा आलु रोप्‍ने चिनियाँ महत्वाकांक्षा

हिमालखबर

चन्द्रमाको पृथ्वीबाट नदेखिने हिस्सामा आफ्नो यान पुगेको खुशीयालीसहित चीनले अन्तरिक्षमा महाशक्ति बन्‍ने आफ्नो चाहना सार्वजनिक गरेको छ।

‘चाङ-ए ४’ नाम दिइएको अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुव ‘एटकिन बेसिन’मा पुगेको छ, जसले हालसम्म पत्ता नलागेको हिस्साको अवलोकन मात्र होइन, जैविक प्रयोग पनि गर्नेछ।

चीनको अन्तरिक्ष अभियान मात्र डेढ दशकअघि मात्र शुरु भएको हो। यति छोटो अवधिमा प्राप्त सफलतालाई ठूलो योगदानका रूपमा वैज्ञानिकहरूले व्याख्या गरेका छन्। सन् २००३ मा चीनले पहिलो पटक मानवसहितको यान अन्तरिक्षमा पठाउन सफलता पाएको थियो, जुन रुस र अमेरिकापछि तेस्रो सफलता थियो।

आगामी ५ वर्षका लागि चीनका अन्य महत्वाकांक्षी योजना पनि नभएका होइनन्। जस्तो- विश्‍वको सबैभन्दा ठूलो टेलिस्कोप, सबैभन्दा बढी तौलको रकेट र स्पेस स्टेसन प्रक्षेपण गर्ने योजना। यी सबै परियोजनामार्फत् भविष्यको अन्तरिक्ष महाशक्ति बन्‍ने चिनियाँ चाहना कसैबाट छिपेको छैन।

त्यसैको पछिल्लो कडी हो, ‘चाङ-ए ४’ को प्रक्षेपण। यो सन् २००३ मा शुरु भएको मिसनको एक हिस्सा हो। यसको अर्को पहलु पनि छ- सन् २०३६ मा चन्द्रमामा चिनियाँ नागरिकलाई उतार्ने महत्वाकांक्षा। सोही उद्देश्य पूरा गराउन चीनले हालसम्म अन्य अन्तरिक्ष महाशक्ति देशले गर्न नसकेको काम गरेको छ, चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान उतारेर।

चन्द्रमाको दक्षिणी ध्रुवलाई पृथ्वीसँग नियमित सम्पर्कमा राखिराख्‍न सहज भने छैन। किनभने, चन्द्रमाको वातावारण नै त्यसमा बाधक छ। त्यसको समाधानका लागि चीनले एक विशेष स्याटेलाइट प्रक्षेपण गरिसकेको छ, जसले चन्द्रमाको दक्षिणी ध्रुव र पृथ्वीबीच सम्पर्क कायम राख्न मद्दत पुर्‍याउने विश्वास छ। ‘चाङ-ए ४’ ले चन्द्रमाको सतहको खोजविन मात्र गर्ने छैन, दक्षिणी ध्रुवमा आलु र अन्य वनस्पति रोप्‍ने प्रयास पनि गर्नेछ। र, रेशम किराको अण्डा पनि फैलाउने प्रयत्‍न गर्नेछ।

सन् २०१८ मा चीनले प्रक्षेपण गरेका ३९ मध्ये एउटा रकेट मात्र असफल भएको छ। सन् २०१६ मा चीनले २२ वटा रकेट प्रक्षेपण गरेको थियो। सन् २०१८ मा अमेरिकाले ३४ र रुसले २० रकेट अन्तरिक्षमा पठाएका थिए। सन् २०१८ मा अमेरिकाले अन्तरिक्ष कार्यक्रमका लागि ३६ बिलियन डलर खर्च गर्‍यो। जबकि, उक्त वर्ष चीनको अन्तरिक्ष कार्यक्रमका लागि ५ बिलियन डलर मात्र खर्च भएको थियो।

बढीभन्दा बढी स्याटेलाइट प्रक्षेपण गर्न चीनले बढी तौलका रकेट प्रयोग गर्दै आएको छ, जसलाई दोस्रो पटक पनि प्रयोग गर्ने चिनियाँ योजना देखिन्छ। अमेरिकामा निजी कम्पनीहरू कम मूल्यमा रकेट निर्माण गरिरहेका छन्, चीनमा भने यस कार्यक्रममा निजी कम्पनीहरू असफल देखिन्छन्।

चीनले अन्तरिक्षमा स्पेस स्टेसन प्रक्षेपण गर्ने महत्वाकांक्षा पनि देखाउँदै आएको छ। अमेरिका, रुस र युरोपेली मुलुकको संयुक्त प्रयासमा १७ वर्षदेखि पृथ्वीको फेरो मारिरहेको अन्तर्राष्‍ट्रिय स्पेस स्टेसन (आईएसएस)को विकल्प बन्‍ने प्रयास चीनले सन् २०११ देखि थालेको हो। तर, उसको स्पेस स्टेसन त्यसभन्दा सानो थियो। र, त्यसमा सवार हुने वैज्ञानिकहरू कम दिन मात्र बस्‍न सक्थे। सन् २०१६ मा चीन उक्त कार्यक्रमबाट पछाडि हट्यो किनभने उसको स्पेस स्टेसन तियाङगोंग-१ सँगको सम्पर्क विच्छेद भयो। गत अप्रिलमा तियाङगोंग-१ प्रशान्त महासागरमा खस्यो।

चीनको दोस्रो स्पेस स्टेसन तियांगोग-२ अहिले पनि अन्तरिक्षमा घुमिरहेको छ। र, सन् २०२२ सम्ममा मानवसहितको स्पेस स्टेसन अन्तरिक्षमा पठाउने चिनियाँ चाहना पनि छिपेको छैन।

सन् २००७ मा चीनको अन्तरिक्ष अभियानको चर्को आलोचना भयो। कारण, चीनले अन्तरिक्षमा अन्य कुनै मानव निर्मित भूउपग्रह ध्वस्त गर्न सक्ने आफ्नो कार्यक्रम प्रदर्शन गर्‍यो। तर, कुनै प्रकारको शस्त्रीकरणको योजना नरहेको बताएर बेइजिङले आफ्नो आलोचनाबाट बच्‍ने प्रयास गर्‍यो। सन् २०१६ मा चीनले अलोङ-१ नामक अन्तरिक्ष अभियान पठायो, जो अन्तरिक्षमा फैलिएको फोहोर सफाइमा सफल रह्यो।
बीबीसीबाट

प्रतिकृया दिनुहोस