खेलकुदशनिवार, पौष २१, २०७५

फाल्गुनन्द गोल्डकप- उद्घाटन खेलमा झापा विजयी

हिमालखबर

पाँचथर सदरमुकाम फिदिममा शुरु भएको १० औं रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत २१ पुसमा भएको उद्घाटन खेलमा झापा-११ विजयी भएको छ।

पाँचथर सदरमुकाम फिदिममा शुरु फाल्गुनन्द गोल्डकपको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै झापा-११ (सेतो जर्सी) र कर्णसिंह सोनाम ताप्लेजुङ (निलो जर्सी) ।

प्रतिस्पर्धी कर्णसिंह सोनाम क्लब ताप्लेजुङलाई ३-१ गोल अन्तरले हराउँदै झापा-११ दोस्रो चरणमा प्रवेश गरेको हो। खेलको छैटौं मिनटमा ताप्लेजुङका अनुप सेन्दाङले १ गोल गर्दै टिमको खाता खोले पनि २६ औं मिनटमा झापाका देवेन्द्र तामाङले जवाफी गोल फर्काउँदै आफ्नो टिमलाई १-१ को बराबरीमा ल्याएका थिए।

मध्यान्तरपछिको चौथो मिनटमा कर्ण लिम्बूको पासमा झापाका राजकुमार कन्दङवाले १ र १२ औं मिनटमा कर्ण लिम्बूले १ गोल गरेर ३-१ को अग्रता दिलाए। खेलको उत्कृष्‍ट खेलाडी बन्दै झापाका देवेन्द्र तामाङले रु. १० हजार पुरस्कार प्राप्त गरे।

फिदिम स्पोर्टिङ क्लब र पाँचथर जिल्ला फुटबल संघले आयोजना गरेको १० औं रुस्लान फाल्गुनन्द गोल्डकपमा यस वर्ष नेपालका ३ विभागीय र १ भारतीयसहित ‘ए’ डिभिजनका १० टिम सहभागी छन्। १६ औं राष्ट्रिय विभूती फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजित प्रतियोगिताको उद्घाटन प्रदेश-१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोले गरेका हुन्।

लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस