नयाँ २००, ५०० र २००० दरका भारु नोट सटही सुविधा दिन राष्ट्र ब्यांकद्वारा भारतलाई पत्राचार
सरकारले ठूला दरका भारतीय नोट नेपालमा प्रतिबन्ध गर्ने निर्णय गरेको २५ दिनपछि नेपाल राष्ट्र ब्यांकले तिनै नोटको सहटी सुविधा दिन भारतीय केन्द्रीय ब्यांकलाई पत्राचार गरेको छ ।
‘नयाँ २००, ५०० र २००० दरका भारु नोट सटही गर्ने सुविधा दिन भारतीय रिजर्भ ब्यांकलाई पत्राचार गरेका छौं,’ नेपाल राष्ट्र ब्यांकको विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भिष्मराज ढुंगानाले भने । उनले यसअघि भारत सरकारले प्रतिबन्ध लगाएका पूराना ५०० र १००० दरका नोटको सटही गरिदिन पनि पत्रचार गरेको जानकारी दिए ।
२४ मंसिरमा मन्त्रिपरिषदले २००, ५०० र २००० दरका भारु नोट नेपालभित्र सञ्चय गरेर राख्न, ओसारपसार गर्न र ती दरको नोट प्रयोग गरेर सामान किन्न तथा भुक्तानी गर्न बन्देज गर्ने निर्णय गरेको थियो । तर सरकारको उक्त निर्णय एक महिना पनि टिकेन । राष्ट्र ब्यांकका अधिकारीहरुले २० पुसमा भारतीय रिजर्भ ब्यांकलाई नोट सटहीको प्रस्ताव गरेर पत्र लेख्न सरकारले नै आग्रह गरेको बताएका छन् ।
राष्ट्र ब्यांकका गभर्नर डा चिरञ्जिवी नेपालले रिजर्भ ब्यांकलाई पत्र पठाएका हुन् । “रिजर्भ ब्यांकले पनि यो पत्र भारत सरकारलाई पठाउने हो,” कार्यकारी निर्देशक ढुंगाना भन्छन, “केन्द्रीय ब्यांकले भारत सरकारलाई पत्र लेख्न नमिल्ने भएकाले मात्रै रिजर्भ ब्यांकलाई पत्र पठाइएको हो ।”
आफ्नो देशको मुद्राको सटही सुविधा दिने वा नदिने विषयमा निर्णय गर्ने अधिकार भारत सरकारसँग भएकाले त्यहाँको केन्द्रीय ब्यांक मध्यस्थकर्तामात्र हुन्छ ।
नेपाल सरकारले भारु प्रतिबन्ध गरेको विषयलाई भारतमा निकै चासोसाथ हेरिएको थियो । त्यहाँका सञ्चारमाध्यामले प्राथमिकतासाथ खबर प्रस्तुत गरेका थिए । १९ पुसमा भारतीय संसदको माथिल्लो सदन राज्य सभामा नेपाल सरकारको निर्णयमाथि प्रश्न उठेको थियो ।
विभिन्न सञ्चारमाध्याममा आएका खबरअनुसार सांसद रविप्रकाश बर्मा र निरज शेखरले नेपाल सरकारले भारु नोटमाथि प्रतिबन्ध लगाउनुको कारण र भारत सरकारको धारणा मागेका थिए ।
समाचारमा आएअनुसार जवाफमा भारतीय विदेश मन्त्रालयका राज्यमन्त्री जनरल डा विजयकुमार सिंहले उक्त सूचना पाएको, तर भारत सरकारले यसबारे नेपालसँग कुनै पनि कुरा नगरेको जानकारी गराएका थिए । भारतीय राज्यसभामा प्रश्न उठेको भोलिपल्टै नेपाल राष्ट्र ब्यांकले ती दरका नोटको सटही सुविधा दिन माग परेको हो ।
राष्ट्र ब्यांकका अधिकारीहरुले पुराना भारु नोटको सटही सुविधा दिन नेपाल सरकार र राष्ट्र ब्यांकले डेढ वर्षअघि गरेको आग्रहको जवाफ हालसम्म नआएको बताएका छन् । लामो समयसम्म नेपालीसँग भएको भारुको सटही दिन भारत सरकार तयार नभएपछि मन्त्रिपरिषदले ठूला दरका नयाँ भारु नोट प्रतिबन्ध गर्ने निर्णय गरेको थियो ।
अहिले नेपालमा १०० अंकित दरका भारु नोटमात्रै असीमित रुपमा सटही सुविधा पाइन्छ ।