टिप्पणीशुक्रबार, २० पौष , २०७५

लिङबो अर्थात् लिम्बू भोटे

कमल मादेन

मूल पहिचान गुमाएर समयक्रममा अर्कै जातिमा परिणत हुने अवस्था ठाउँ र परिस्थिति अनुसार अन्तरघुलन हुनुपर्ने विगतको सामाजिक नियमको दृष्टान्त हो ।

भोटखोला गाउँपालिका, सेक्सिलाका एक स्थानीय लिङबो । तस्वीरहरुः कमल मादेन

मंसीर तेस्रो साता संखुवासभास्थित भोटखोला गाउँपालिकाको विकट गाउँ सिम्बुङ पुगियो । खाँदबारीबाट करीब ८७ किलोमिटर टाढा रहेको सिम्बुङको यात्रामा सागर दाहाल, शंकर बस्याल, सोनाम लामालगायत थियौं । हाम्रो लक्ष्य तल्लो वरुण खोला जलविद्युत् आयोजनाअन्तर्गत सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी हुनुथियो । 

कार्यक्रम सकिएको भोलिपल्ट थप विवरण संकलन गर्न स्थानीय तीन जना सहयोगीसहित वरुण खोलाको पानी भूमिगत सुरुङमा फर्काउने ठाउँ गयौं । गाउँलेहरू ५/६ घण्टामा पुग्ने ठाउँ पुग्न हामीलाई साढे ९ घण्टा लाग्यो । मानिसहरू अत्यन्त कम हिंड्ने बाटो यति विकट थियो, कति ठाउँ त मालिङ्गोको बोट समाउँदै र लहरामा झुन्डिएर उकालो चढियो ।

सिम्बुङमा करीब ५५ घरधुरी भोटे जातिको मात्रै बसोबास छ । यसैले हाम्रा तीन सहयोगी पनि भोटे नै थिए । सहयोगीहरूले कुरैकुरामा सिम्बुङभन्दा दक्षिणको एक गाउँमा लिम्बू भोटे (लिङबो) को बसोबास रहेको र उनीहरू अहिले भोटे बनेको बताए ।

उनीहरूका अनुसार, चार/पाँच पुस्ताअघि त्यहाँ एक जना लिम्बू आएका थिए । उसको त्यहीं घरजम भयो र कालान्तरमा तिनकै सन्तान भोटे (लिङबो) भए । यस्तो वृत्तान्त सुनेर अचम्म लाग्यो । लिम्बू र भोटेको त भाषा, संस्कृति, रहनसहन नै पूरै फरक हुन्छ । पंक्तिकारलाई त्यो गाउँमा पुगेर उनीहरूसँग कुराकानी गर्नैपर्छ भन्ने लाग्यो ।

लिम्बू र लिङबो
लिम्बूहरू मूलतः अरुण नदी पूर्वका पहाडी तथा हिमाली भेकका बासिन्दा हुन् । लिम्बू कहिलेदेखि त्यहाँ बस्न थाले भन्ने ऐतिहासिक प्रमाण भेटिंदैन । हजारौं वर्षअघि तिब्बततिरबाट आएको एक मंगोलियन समूहले त्यहाँ पुगेर भाषा, संस्कृति विकास गरेपछि कालान्तरमा त्यही नै लिम्बू संस्कृति भएको मानिन्छ ।

तर, लिम्बू शब्द उल्लेख भएको दस्तावेज २४४ वर्ष मात्र पुरानो भेटिएको छ । नेपाल एकीकरणताका गोर्खाली फौजबाट लिम्बू सेना पराजित भयो । त्यसपछि पृथ्वीनारायण शाहबाट वि.सं. १८३१ मा जारी भएको एक लालमोहरमा लिम्बू शब्द परेको छ । अहिलेसम्म त्यही लालमोहर लिम्बू शब्द लेखिएको सबैभन्दा पुरानो दस्तावेज मानिन्छ ।

लक्लाङ ।

लिम्बूले आफूहरूलाई ‘याक्थुम्बा’ र तिनका भाषालाई ‘याक्थुङ पान’ भन्छन् । त्यसबेला अरुण नदी पूर्वतिर पुगेका अन्य जनजाति पनि सम्भवतः ‘याक्थुङ पान’ बोल्थे । उनीहरूमध्ये धेरै ‘याक्थुम्बा’ को भाषा र संस्कृतिमा अन्तरघूलित भएको हुनुपर्छ ।

त्यसैले उनीहरू करीब साढे दुई शताब्दीयता लिम्बू जातिमा दर्ज भए होलान् । लिम्बूहरू पछिल्लो समय ‘याक्थुङ पान’ को भाषिका अनुसार मेवाखोले (ताप्लेजुङ), मैयाखोले (ताप्लेजुङ), फेदापे (तेह्रथुम), पान्थरे (पाँचथर), छथरे (दक्षिण तेह्रथुम) आदि पृथक् उप–समूहमा बाँडिएका छन् ।

संखुवासभाको सदरमुकाम खाँदबारीबाट चिचिला, नुम हुँदै ६ घण्टा गुडेर गोलाबजार पुगिन्छ । अरुण खोलाको किनारमा रहेको गोलाबजार भोटखोला गाउँपालिका–४ अन्तर्गतको सानो बस्ती हो । गोलाबजारको पश्चिम–उत्तरमा पूर्वी मोहडा भएको सेक्सिला गाउँ छ । 

सन् १८०२ मा तत्कालीन इष्ट इन्डिया कम्पनीको एक कारिन्दा फ्रान्सिस् बुखानन् ह्यामिल्टन काठमाडौं उपत्यकामा आएका थिए । ह्यामिल्टनले सन् १८१९ मा लेखेको एन एकाउन्ट अफ द किङ्डम अफ नेपाल पुस्तकमा ‘सेक्सिला’ को चर्चा गरिएको छ । तर, पुस्तकमा सेक्सिला नभई ‘सेक्सुला’÷‘सेक्सुरा’ भन्ने गाउँको चर्चा छ । यसबाट सेक्सिलालाई त्यसबेला ‘सेक्सुला’/‘सेक्सुरा’ भनिन्थ्यो कि भन्ने बुझिन्छ ।

पुस्तकमा अरुण नदी किनारमा रहेका गाउँहरू उल्लेख गर्ने क्रममा हेदाङ (हेदाङना) उत्तरमा अरुण नदी किनार पश्चिमतर्फ ‘सेक्सुला’/‘सेक्सुरा’ भन्ने गाउँमा भोटेहरूको बसोबास छ भन्ने लेखिएको छ । ह्यामिल्टनले अरुण उपत्यकामा बसोबास गर्ने एक किरातीबाट अरुण उपत्यकासहित पूर्वी नेपालको नक्शा प्राप्त गरेको उल्लेख गरेका छन् ।

सेक्सिलामा लिङ्बो, भोटे, गुरुङ, श्रेष्ठ आदि जातिका करीब १२० घरधुरी छन् । त्यसमध्ये ४०/४५ घर लिङ्बोका छन् भन्ने थाहा पाइयो । लिङ्बोले आफूहरू लिम्बू भएको बताउँदा रहेछन् । उनीहरूको पहिरन र भाषा भोटेसँग काटीकुटी मिलेको देखियो । बिहेबारी पनि अक्सर भोटेसँग मात्रै हुँदोरहेछ ।

पहिचान गुम्नुको पीडा
सेक्सिलाका २२ वर्षीय मुक्टुक भोटे वरुण बजारमा भेटिए । नागरिकतामा लेखिए अनुसार उनको नाम दवसाङवु भोटे, बाबु र आमाको नाम क्रमशः छेजा भोटे र फेन्जम भोटे हो । कुराकानीका क्रममा दवसाङवुले आफू लिम्बू भएको केही वर्षअघि मात्रै थाहा पाएको बताए ।

उनले भने “उहिले बाजे, बराजु तेह्रथुमतिरबाट सेक्सिला आएका रहेछन् । एक जना शेर्पिनीसँग घरजम गरेर बाजे यतै बसेछन् । त्यसबेला यहाँ भोटेहरू मात्रै थिए, यसैले समय क्रममा हामी पनि भोटे भयौं ।”

दवसाङवुले आफूहरूले नागरिकता, शैक्षिक प्रमाणपत्र, जग्गाधनी पुर्जा सबैमा भोटे थर लेख्नुपरेकोमा दुःख लागेको बताउँदै यसलाई सच्याउन चाहेको समेत बताए । उनकी श्रीमती थाङजुङ माङलाक हुन् ।

संखुवासभाकै हटियातिर बसोबास गर्ने माङलाक पनि मगरबाट भोटे भएको दवसाङवुले बताए । सेक्सिलाकै ङिमाछेदर भोटे (२६) ले पनि आफू लिम्बू भएको बताए । उनका अनुसार, उनीहरूका पुर्खा पहिले गोलाबजारभन्दा उत्तर अरुण खोलाको पूर्वतर्फको टारमा बस्थे । लिम्बू बसेकै कारण उक्त टारलाई लिम्बूटार भनिन्छ ।

लिम्बूटारको इतिहास रोचक छ । लिम्बूटारबाट सेक्सिला गएका लिम्बू परिवारहरू भोटे भए । त्यहाँ रहेका बाँकी लिम्बूहरू भने याम्पूm राई भएको किस्सा सुनियो । लिम्बूटारभन्दा केही पूर्व तुङखालिङ गाउँमा बसोबास गर्ने रेसकुमार राई (याम्फू) को लिम्बूटारमा अहिले पनि जग्गा छ । उनले तुङखालिङमा १५ घर जति याम्फू राईको बसोबास रहेको जनाए ।

तुङखालिङको याम्फू पहिले लिम्बू थिए रे नि भन्ने मेरो प्रश्नमा उनले होइन भने । तर, केही बेरपछि उनले आफैं भने “हाम्रो पाछा (गोत्र) मा लिम्बू शब्द गाँसिन्छ ।” त्यहाँका याम्फूले तिनका गोत्र सालिम्बुहाङ केसाङ हो भन्दा रहेछन् । अन्यत्र याम्फूको पाछा केसाङ मात्र पनि हुँदोरहेछ ।

‘याक्थुङ पान’ मा ‘सा’ शब्दले सन्तान भन्ने पनि जनाउँछ । यसबाट के अनुमान गर्न सकिन्छ भने त्यहाँका याम्फूहरू लिम्बूकै सन्तान भएकाले तिनको पाछा सालिम्बुहाङ केसाङ भनिएको हो । रेसकुमारले बताए अनुसार लिम्बूटारबाट सिक्किमतिर बसाइँ सरेका तिनका दाजुभाइले आफ्नो जात लिम्बू लेख्छन् ।

सेक्सिलाकै छेजा भोटे (३५) ले आफ्नो पूर्वज भूतपूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको गाउँ धनकुटाको मुगातिरबाट आएको बताए । उनले आपूm पनि लिम्बू भोटे भएको जनाए । मुगा गाउँतिर राईको बाहुल्य छ । यसले धनकुटाका राई पनि सेक्सिलामा बसोबास गर्ने क्रममा भोटे जातिमा परिणत भएका छन् कि भन्ने शंका गर्ने ठाउँ छ ।

जरामा फर्किने चाहना
लिङबोले लट्ठीजस्तो देखिने तर त्यसभित्र धारिलो हतियार भएको वस्तुलाई तक्लाङ भन्दा रहेछन् । लौरो जसरी टेक्न प्रयोग गरिए पनि कसैले आक्रमण गरे त्यसबाट धारिलो वस्तु निकाली प्रहार गर्न काम आउँदोरहेछ ।

सेक्सिलामा सर्वप्रथम पुग्ने एक लिम्बूले पुर्‍याएको एक तक्लाङ भेटियो । त्यस्तो सामग्री लिम्बू बाहुल्य ठाउँमा अक्सर लिम्बू समुदायका लडाकु व्यक्तिले टेकेर हिंड्थे भन्ने भनाइ छ । सेक्सिलामा तक्लाङ भेटिएकाले लिङबो लिम्बूकै सन्तान हुन् भन्ने अनुमान गर्न सकिन्छ ।

भोटेको बाहुल्य रहेको गाउँमा बसोबास गर्ने लिम्बूहरू भोटे जातिमा परिणत भए । यस्तै, याम्फूको वर्चस्व रहेको तुङखालिङमा रहँदा तिनै लिम्बू याम्फू राई भए । हटियामा बसोबास गर्ने मगर भोटेअन्तर्गतकै माङलाकमा परिणत भए । यसले के संकेत गर्छ भने, उहिले कुनै एक जाति अर्को जातिको बाहुल्य भएको ठाउँमा पुगेपछि त्यही जातिकै रहनसहन, भेषभुषा, भाषा र संस्कृतिमा अन्तरघूलन हुनुपथ्र्यो ।

सेक्सिलाका भोटे, लिम्बू पहिचानबाट विच्छेद भए । अहिले उनीहरू आफ्नो मूल पहिचानमा जोडिन खोजिरहेका छन् । सम्बन्धित समुदाय र स्थानीय सरकारले ध्यान पुर्‍याए भविष्यमा मूल पहिचानमा जोडिने काम सम्भव होला ।

प्रतिकृया दिनुहोस